Monday, September 21, 2026
Homeसामाचारबाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा

बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ । देशका विभिन्न स्थानमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवरोध र सञ्चालन अवस्थाबारे जानकारी दिएको हो।

कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान १०ः३० बजे पहिरो जाँदा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

यसैगरी, बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोका कारण सडक आवागमन प्रभावित भएको छ। काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै असोज १६ गतेदेखि विशेष व्यवस्था लागू गरिएको छ।

उक्त सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्था हेरेर १० टनसम्मका मालवाहक सवारीसाधन सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।

रसुवा जिल्लाका मुख्य राजमार्गहरू पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण असोज १ गते राति १० बजेदेखि टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, पासाङ ल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० स्थित सिमटारमा असोज १० गते बिहान १०ः३० बजे बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

धादिङ हुँदै जाने पृथ्वीराजमार्गमा भने पहिरो हटाएर यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा भदौ १६ गते तथा शीतलबजारमा भदौ २६ गते गएको पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।

अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक विभाग तथा नेपाल प्रहरीका टोली निरन्तर परिचालित रहेको जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका