Sunday, August 23, 2026
Homeअपराध र घटनाप्रचण्डद्वारा गरिमा चौधरी हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न माग

प्रचण्डद्वारा गरिमा चौधरी हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दै भनेका छन्, ‘यस घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

गरिमामाथि भएको अपराधले राज्य, समाज र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको प्रचण्डको भनाइ छ । बालिकाहरूले भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको उनले उल्लेख गरेका छन् ।

गरिमाका लागि न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रचण्डले घटनालाई एउटा परिवारको पीडामा मात्र सीमित गर्न नहुने बताएका छन् । बालबालिकाको सुरक्षा र न्याय सुनिश्चित गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उनको जोड छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका