काठमाडौं । अफगानिस्तानको तालिबान नेतृत्वको रक्षा मन्त्रालयले आफ्नो वायुसेनाले पाकिस्तानका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा रहेका आइएसआईएस–खोरासान (आईएसकेपी) सम्बन्धित लक्ष्यहरूमा हवाई आक्रमण गरेको दाबी गरेको छ।
रक्षा मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा बलुचिस्तानका गुलिस्तान र शकरब क्षेत्र तथा खैबर पख्तुनख्वाको ओराकजाई जिल्लास्थित कम्बरखेल क्षेत्रमा रहेका आइएसआईएस–खोरासानका अड्डाहरूलाई निशाना बनाइएको जनाएको छ।
मन्त्रालयका अनुसार ती स्थानहरू अफगानिस्तानविरुद्ध आक्रमणको योजना बनाउन तथा सञ्चालन गर्न प्रयोग हुँदै आएका थिए। तालिबानले केही विदेशी गुप्तचर समूहहरूको सहयोगमा ती अड्डाहरूबाट अफगानिस्तानमा घातक गतिविधि सञ्चालन भइरहेको आरोपसमेत लगाएको छ।
तालिबानको दाबीअनुसार ती अड्डाहरू विगतका धेरै घातक आक्रमणहरूको योजना र कार्यान्वयनका केन्द्र बनेका थिए। आक्रमणपछि भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
बीबीसी पश्तोले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै उक्त आक्रमणमा आइएसआईएस–खोरासानका केही शीर्ष नेताहरू मारिएको जनाएको छ। यद्यपि, यसबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
तालिबान रक्षा मन्त्रालयले अफगानिस्तानको सुरक्षा र स्थिरताविरुद्धका कुनै पनि खतराप्रति शून्य सहनशीलताको नीति अपनाइने बताएको छ। मन्त्रालयले आवश्यक परे त्यस्ता खतराहरूलाई समाप्त गर्न आफ्नो सम्पूर्ण क्षमता र स्रोत प्रयोग गर्ने चेतावनी पनि दिएको छ।
यस घटनाबारे पाकिस्तान सरकारले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।


