Thursday, April 16, 2026
Homeखेलकुदनेपाली फुटबल विकासमा सहकार्य गर्न स्पेनिस ला लिगा उत्साही

नेपाली फुटबल विकासमा सहकार्य गर्न स्पेनिस ला लिगा उत्साही

काठमाडौँ । स्पेनी ला लिगा नेपालको फुटबल विकासमा सहकार्य गर्न उत्साहित बनेको छ।
स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानोबीच यस बिषयमा छलफल भएको हो ।

ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदूत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताव राखेका थिए ।

मड्रिडस्थित ला लिगाको मुखयालयमा मंगलबार करिब एक घण्टा लामो भेटका क्रममा राजदुत ढकालले ला लिगाका अध्यक्ष मेड्रानोलाई नेपाल भ्रमणको निम्तो पनि दिएकी थिइन् । ‘उहाँ नेपाल भ्रमणका लागि निकै उत्साही हुनुहुन्छ । उहाँको नेपाल भ्रमण चाँडै सम्पन्न हुनेछ । नेपाली फुटबलको विकासका लागि सहकार्य गर्न ला लिगाका तर्फबाट उहाँले तत्परता जनाउनुभएको छ,’ राजदूत ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

राजदूत ढकालका अनुसार भेटमा नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने तथा नेपाली फुटबललाई प्राविधिक रुपमा सशक्त बनाउन सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो । ‘ला लिगाको चाहना समग्र नेपाली फुटबलको विकासमा सहकार्य गर्नेछ । यद्दपि, महिला फुटबलमा सहकार्य गर्ने विषयमा उहाँ बढी केन्द्रीत हुनुहुन्छ,’ राजदूत ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘खेलकुदको माध्यमबाट नेपालमा सकारात्मक सन्देश प्रवाह गर्नु जरुरी छ । देश निर्माणको अभियानलाई सार्थक बनाउन युवाहरुलाई सक्रियतापूर्वक खेलकुदमा सहभागी गराउनुपर्छ । समाजलाई स्वस्थ र रचनात्मक तथा विकासको बाटोमा अगाडि बढाउन खेलकुद निकै महत्वपूर्ण क्षेत्र हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले हामीले स्पेनबाट फुटबलसँगै अन्य खेलमा सहकार्य र सहयोगको प्रयास गरिरहेका छौँ । फुटबलमा स्पेनको स्तर निकै माथि रहेकाले सहकार्य फलदायी हुने विश्वास लिएका छौं ।’

नेपालमा स्पेनिस फुटबलको ‘फ्यान बेस’ निकै राम्रो भएको कारण पनि ला लिगा सहकार्यका लागि उत्साही भएको राजदूत ढकालको बुझाई छ । भेटका क्रममा ला लिगाका अध्यक्ष मेड्रानोले भौगोलिक रुपमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि निकै राम्रो ठाउँ भएको बताउँदै निकट भविष्यमै सहकार्यको थालनी गरिने बताएका थिए ।

सो क्रममा अध्यक्ष मेड्रानोले राजदूत ढकाललाई ला लिगाको आधिकारिक बल उपहार दिएका थिए । स्पेनस्थित नेपाली राजदूतावासको पहलमा गतवर्ष त्यहाँको दोस्रो डिभिजनको क्लब कासेरेन्यो एफसीले दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गरेको थियो ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका