ललितपुर । नेपालमा पहिलोपटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ । किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको उक्त प्रत्यारोपणलाई नेपालमा बालबालिकाको कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
विल्सन रोगका कारण गम्भीर स्वास्थ्य समस्यामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल थियो । विभिन्न विशेषज्ञ चिकित्सकको टोलीले करिब एक महिनासम्म निरन्तर उपचार तथा निगरानी गर्दै उनको स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गर्ने निर्णय गरिएको थियो ।
वि.सं. २०८३ भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन् । आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको किष्ट प्रत्यारोपण केन्द्रले जनाएको छ ।
बालबालिकामा कलेजो प्रत्यारोपणलाई अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रियाका रूपमा लिइन्छ । यस्तो प्रत्यारोपणका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, एनेस्थेसिया चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ ।
किष्ट प्रत्यारोपण केन्द्रका विभिन्न विधाका विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा जटिल शल्यक्रिया तथा उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । यस सफलतासँगै नेपालमै जटिल बाल कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने सम्भावना थप बलियो बनेको केन्द्रको विश्वास छ ।
यसअघि यस्ता जटिल उपचारका लागि धेरै नेपाली बिरामी विदेश जानुपर्ने अवस्था रहँदै आएको थियो । किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बालबालिकाका लागि विशेष उपचार सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
केन्द्रलाई बाल उपचारको विशेषज्ञ केन्द्रका रूपमा विकास गर्दै विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ ।
आमाले छोरीलाई कलेजोको एक अंश दान गर्नु, चिकित्सक तथा स्वास्थ्यकर्मीको निरन्तर प्रयास र आधुनिक चिकित्सा प्रविधिको समन्वयबाट बालिकाले नयाँ जीवन पाएको अस्पतालले जनाएको छ । उक्त सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासका दृष्टिले समेत महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ ।


