काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय महिला ट्वेन्टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ।
कुआलालम्पुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रनको योगफल तयार पार्यो। कप्तान विनिफ्रेड डुरैसिंगमले २७ तथा ओपनर ऐना हमिजा हसिमाले २६ रनको योगदान दिइन्।
१०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि पुजा महतोले सर्वाधिक ३० रन जोडिन् भने सम्झना खड्का १८ र कविता जोशी १३ रनमा सीमित भइन्।
आगामी जनवरीमा हुने टी–२० महिला विश्वकप ग्लोबल छनोटको तयारीका लागि नेपालले हाल मलेसियामा तयारी सिरिज खेलिरहेको छ।


