काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन)ले आफ्ना मागहरू सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यी दुई संगठनले भोलि (भाद्र ५ गते, बिहीबार) बिहान ११ बजेदेखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले व्यानरसहित र्याली निकाल्ने र पुनः माइतीघरमै कोणसभा गर्ने कार्यक्रम घोषणा गरे।
त्यसपछि, भाद्र ६ गते बिहान ११ बजे देशभरका स्कुल बसहरू विद्यालय नजिकैका चोकमा उतारेर नगर परिक्रमा गर्ने योजना छ। काठमाडौं उपत्यकामा भने २७ किमी चक्रपथ वरिपरि कालो झण्डा र व्यानरसहित बस र्याली गरिने बताइएको छ। त्यही दिन दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीय संसद घेराउ/धर्ना गर्ने कार्यसूची पनि घोषणा गरिएको छ। साथै, भाद्र ८ गतेदेखि निर्णायक आन्दोलनमा प्रवेश गर्ने चेतावनीसमेत दिएका छन्।
‘राज्यसँग टकराव होइन, संवाद र सहकार्य चाहन्छौं। तर हाम्रो व्यावसायिक अस्तित्व र शैक्षिक योगदानमाथि निरन्तर आक्रमण भए हामी संघर्षका सबै विकल्प रोज्न बाध्य हुनेछौं,’ उनीहरूले स्पष्ट पारे।
प्रमुख मागहरू
१. ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने।
२. विद्यालयमा उत्पादन नहुने सामग्री (पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना आदि) उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने।
३. कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई ‘गैर नाफामूलक’ बनाइने प्रावधान हटाउनुपर्ने।
४. छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने, पालिका प्रतिनिधिसहित पारदर्शी समिति गठन गरेर वितरण गर्न सकिने व्यवस्था मिलाउनुपर्ने।
५. छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) अन्तर्गतको ४५ प्रतिशत आरक्षण व्यवस्था र २०७७ को संशोधन ऐनमा रहेको विभेदकारी प्रावधान खारेज गर्नुपर्ने।


