काबुल: अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ। तालिबान सरकारले पश्चिमी देशहरूको सबै आलोचनाका बाबजुद लगातार नयाँ आदेश जारी गर्दै महिला अधिकारको उल्लङ्घन गरिरहेको छ।
यसअघि तालिबानले महिलालाई समाचार एङ्करिङ र रिपोर्टिङबाट हटाइसकेको थियो, र अब नयाँ आदेशअनुसार रेडियोमा पनि महिलालाई हटाइएको छ। अफगानिस्तानको रेडियोमा महिलाको आवाज अब सुनिने छैन।
अफगानिस्तान पत्रकार केन्द्रका अनुसार, तालिबानले कान्दाहारमा नयाँ मिडिया प्रतिबन्ध लगाएको हो। तालिबानको सूचना र संस्कृति निर्देशनालयले जारी गरेको निर्देशन अनुसार, रेडियोमा महिलाको आवाज प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ। यस बाहेक, तालिबानले अन्य कडा निर्देशनहरू पनि दिएका छन् जसको पालना रेडियो स्टेशन्सहरूले अनिवार्य रूपमा गर्नुपर्नेछ।
निर्देशन अनुसार, सबै रेडियो स्टेशनहरूले तालिबान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्नुपर्नेछ। साथै, सञ्चारमाध्यमहरूले तालिबान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ।
नयाँ अध्यादेशले विज्ञापनहरूको क्षेत्रमा पनि कडा प्रतिबन्ध लगाएको छ। औषधि, कस्मेटिक उत्पादन, र स्वास्थ्य सेवाहरूको विज्ञापनलाई सार्वजनिक स्वास्थ्य निर्देशनालयको आधिकारिक अनुमोदन बिना प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ। यसका साथै, रिपोर्टिङ वा कार्यक्रमका लागि कान्दाहार जाने रेडियोका कर्मचारीहरूले पनि सूचना र संस्कृति निर्देशनालयबाट अनुमति लिनुपर्नेछ।
अफगानिस्तान पत्रकार केन्द्रले यसका बिरुद्ध आवाज उठाउँदै यसलाई प्रेस स्वतन्त्रता र महिला अधिकारको उल्लङ्घन भएको बताएको छ। यो कदम अफगानिस्तानका पत्रकार र मिडिया प्रतिष्ठानहरूको लागि थप चुनौतीपूर्ण बनाएको छ, जसले स्वतन्त्रता र समावेशी समाजको लागि संघर्ष गर्दै आएका छन्। अन्तर्राष्ट्रिय समुदायले यस प्रवृत्तिको आलोचना गर्दै तालिबानलाई महिला अधिकार र प्रेस स्वतन्त्रता सम्मान गर्न दबाब दिएको छ।


