Friday, April 17, 2026
Homeकला/साहित्यखोटाङ कलाकार समाजद्वारा प्राज्ञ शान्तिराम राईको एकल साङ्गीतिक साँझ

खोटाङ कलाकार समाजद्वारा प्राज्ञ शान्तिराम राईको एकल साङ्गीतिक साँझ

काठमाडौं– प्रतिष्ठित संगीतकार, गायक तथा लेखक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक साँझ आगामी मंसिर १३ गते काठमाडौंमा हुने भएको छ । खोटाङ कलाकार समाजको आयोजनामा पहिलो पटक “श्रष्टा सम्मान” कार्यक्रमअन्तर्गत यो विशेष साँझ आयोजना गर्न लागिएको हो । समाजका अध्यक्ष रुपकुमार राईले यसलाई खोटाङका अग्रज कलाकारलाई सम्मान गर्ने उद्देश्यले सुरु गरिएको वार्षिक कार्यक्रमको पहिलो श्रृंखला भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्राज्ञ शान्तिराम राईले आफ्नो जीवन संगीतमै समर्पित भएको उल्लेख गर्दै आयोजक संस्था र सहयोगीप्रति आभार व्यक्त गरे । उनले भने, “यो मेरो मात्र शो होइन, सबै खोटाङ्गेको शो हो । यदि यो डुब्यो भने सबै खोटाङ्गेको शिर झुक्छ ।” कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका मेयर तिर्थराज भट्टराई, सांसद बिशाल भट्टराई, नेता विष्णु राई र व्यवसायी टंक श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

राईले २०४६ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गर्दै औपचारिक रूपमा संगीत क्षेत्रमा प्रवेश गरेका थिए । निरन्तर ३६ वर्षदेखि नेपाली संगीत सिर्जनामा सक्रिय उनले हालसम्म १५ सयभन्दा बढी गीत सिर्जना गरिसकेका छन् । एकल साँझमा ‘तिमी तारे भीर म त लहरा’, ‘धोका दियौ तिमिले’, ‘छालहरु ओ छालहरु’, ‘आईडी कार्डले’, ‘ए पहराकी फूल’लगायत उनका सदावहार गीत प्रस्तुत गरिनेछन् । ती गीतहरू दीप श्रेष्ठ, सुक्मित गुरुङ, पवित्रा सुब्बा, राजेशपायल राई, मेलिना राईसहित पुराना र नयाँ पुस्ताका गायक–गायिकाले प्रस्तुत गर्ने कार्यक्रम छ ।

२०७७ सालमा स्थापना भएको खोटाङ कलाकार समाजले २०७९ मा प्रज्ञा भवन, कमलादीमा “खोटाङ साँगीतिक साँझ” आयोजना गरी १०० गायक–गायिका र १०० नृत्य कलाकारलाई प्रस्तुत गराएको थियो । त्यस्तै २०८० मा जिल्लाका १० वटै पालिकामा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरी “पालिका प्रतिभा” कार्यक्रम सम्पन्न गरेको थियो ।

यस पटकको कार्यक्रममा समाजले नयाँ गीत ‘मुस्कुराउछ सधैँ भरी मेरो खोटाङ’ पनि सार्वजनिक गरेको छ । टंक भट्टराईको शब्द, वरिष्ठ संगीतकार महेश खड्काको संगीत र देबेश राईको एरेन्जमा तयार गीतमा १११ जना कलाकारको स्वर समावेश छ । लिम्दुमी क्रिएशन स्टुडियोमा रेकर्ड भएको गीतलाई निर्देशक राजेश पुमा राईले म्युजिक भिडियोको रूपमा प्रस्तुत गरेका छन् । यस गीतलाई दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका, खोटेहाङ गाउँपालिका र ऐशलुखर्क गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका