Tuesday, September 22, 2026
Homeसामाचारकोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्वी बङ्गालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी र मधेश प्रदेशलगायत देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका