Tuesday, April 21, 2026
Homeअर्थ र ब्यापारकोभिड प्रभावितलाई रोजगारी

कोभिड प्रभावितलाई रोजगारी

दैलेख : कोभिड–१९ बाट प्रत्यक्ष मारमा परेका गरिब तथा विपन्न घरपरिवारले गाउँमै रोजगारी पाएका छन्। कोभिडको मारमा परेका ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले गाउँमै रोजगारी पाएका हुन्।

दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दैै आएका घर परिवारलाई सेवक दैलेखद्वारा सञ्चालित भकारी कार्यक्रममार्फत रोजगारी प्रदान गरिएको हो। कार्यक्रममार्फत गरिब तथा विपन्न वर्गलाई लक्षित गरी दैलेख जिल्लाको कर्णाली करिडोरमा कार्यान्वयनमा छ।

‘कामका लागि नगद’ कार्यक्रम अन्तर्गत दैलेखको पश्चिम क्षेत्रमा पर्ने ठाटीकाँध गाउँपालिका–२ सेरीपाटा र टमटान्लाका १ सय १४ घरधुरीलाई रोजगारी दिइएको छ। कोभिडको असर परेका तथा बेरोजगार रहेका व्यक्तिहरूले २१ दिनको रोजगारी पाएका हुन्। ठाटीकाँध गाउँपालिका र भकारी कार्यक्रमको ४० लाख बराबर लगानीमा खानेपानी योजना निर्माणको काम सम्पन्न हुनेछ। रोजगारी पाएकाहरूले सोही खानेपानी योजना निर्माणको काम गर्नेछन्।

उक्त दुई समुदायका काममा जान नसक्ने अपांगता भएका व्यक्ति, सुत्केरी, वृद्धवृद्धालगायतलाई निःसर्त रकम हस्तान्तरणको कार्यक्रमसमेत सञ्चालन भएको कार्यक्रम संयोजक शैलेशकुमार मल्लले बताए। दुल्लु नगरपालिका–१३ औल भिनाडीमा ७० घरधुरी लाभान्वित हुनेगरी ८ लाख बराबरको ग्रामीण सडक सुधारको काम सञ्चालन भइरहेको मल्ले बताए। उनका अनुसार भैरवी गाउँपालिका–५ मिज्माखोलामा ६६ घरपरिवार लाभान्वित हुने गरी ८ लाखको सिँचाइ कुलो निर्माण कार्य भइरहेको छ।

दीर्घकालीन रूपमा विपद् तथा आपत्कालीन अवस्थामा खाद्यान्न उपलब्धतामा सहयोग गर्नुका साथै आपत्कालीन र विपद् जोखिम न्यूनीकरणमा काम गर्दै आएका भकारी कार्यक्रम अन्य समुदायमा पनि सञ्चालन हुने मल्लले जानकारी दिए। ‘कामका लागि नगद’ कार्यक्रम अन्तर्गत गाउँमै रोजगारी पाएकाहरूले कोरोनाका कारण समस्यामा परेका बेला जीविकोपार्जनमा राहत पुग्ने अपेक्षा गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका