काठमाडौँ । शैक्षिक सत्र २०८२/०८३ का लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न देशभरिबाट १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन्।
महानगरको शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार देशका ७७ वटै जिल्लाबाट आवेदन परेका छन्। विषयगत विवरणअनुसार सबैभन्दा बढी विज्ञान संकायमा १२ हजार ३३७ जनाले आवेदन दिएका छन्, जुन कुल आवेदनको करिब ७१ प्रतिशत हो। त्यसपछि व्यवस्थापनमा ४,४८१, मानविकीमा ३४, शिक्षामा १०४ र कानुनमा २७३ जनाले आवेदन दिएका छन्।
परीक्षा सम्बन्धी जानकारी
शिक्षा अधिकृत पौडेलले हाल प्राप्त आवेदनहरूको प्रमाणीकरण (रुजु) कार्य भइरहेको र यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न गरिने जानकारी दिनुभयो। आवश्यक प्रक्रिया पूरा भएपछि विद्यार्थीहरूले साउन १ गतेदेखि अनलाइनमार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्।
छात्रवृत्तिका लागि परीक्षा साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा:
अनिवार्य गणित, विज्ञान, र अङ्ग्रेजी विषयबाट ३०–३० प्रश्न,
सामान्य ज्ञानबाट १० प्रश्न सोधिने छन्।
सबै प्रश्नहरू बहुविकल्पीय (MCQ) हुनेछन्। परीक्षा पास गर्न कम्तीमा ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ। गलत उत्तरका लागि नेगेटिभ मार्किङ लागू नगरिने महानगरले स्पष्ट पारेको छ।
परीक्षा परिणामपछि योग्यता सूचीका आधारमा छात्रवृत्तिका लागि छनोट गरिनेछ, जसका आधारमा विद्यार्थीहरू संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गर्न योग्य ठहरिनेछन्।


