Thursday, September 10, 2026
Homeखेलकुदएसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज (बिहीबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रँदैछन्।

नेपाल समूह ‘ए’ को विजेता तथा ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। नेपालले समूह चरणका चारमध्ये तीन खेल जित्दै समूहको शीर्ष स्थान हासिल गरेको थियो।

समूह चरणमा नेपालले बहराइनलाई ७ विकेट, मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो।

प्रतियोगितामा नेपालको बलिङ बलियो देखिए पनि ब्याटिङ अपेक्षाकृत कमजोर रहेको छ। हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २४६ रनमै अलआउट भएको थियो। प्रतियोगितामा नेपालका लागि इशान पाण्डेले हङकङविरुद्ध बनाएको ९० रन नै हालसम्मको एकमात्र अर्धशतकीय प्रदर्शन हो।

यद्यपि कप्तान सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरी सम्मिलित बलिङ आक्रमणले विपक्षी टोलीलाई दबाबमा राख्दै आएको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीचका पछिल्ला पाँच खेलमा नेपालले तीन र ओमानले दुई खेल जितेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएका तीनवटै खेलमा नेपाल विजयी भएको थियो।

सन् २०२५ मे ५ मा त्रिवि मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको थियो। त्यसअघि सन् २०२४ अप्रिल २१ मा नेपालले ३१० रनको योगफल बनाउँदै ओमानलाई ८४ रनले हराएको थियो। सन् २०२२ जुन १४ मा भएको खेलमा नेपालले ७ विकेटको सहज जित निकालेको थियो।

स्कटल्यान्डको डन्डीमा भएका दुई खेल भने ओमानले जितेको थियो। सन् २०२५ अप्रिल २९ मा ओमान डकवर्थ–लुइस पद्धतिअनुसार १०२ रनले विजयी भएको थियो भने जुन १८ मा भएको खेलमा ओमानले नेपाललाई १ विकेटले पराजित गरेको थियो।

बिहीबार नै हुने अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) र समूह ‘ए’ को उपविजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ जुन १८ देखि जुलाई ४ सम्म बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गर्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका