काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ज गरेको छ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउँदै उतरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। यसअघि पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको पोखराको यो लगातार दोस्रो हार हो।
सुदूरपश्चिमले भने लगातार दुई जितसहित चार अंकका आधारमा तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले हराएको थियो।
भुर्तेलको दोस्रो अर्धशतक
आजको खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दमदार प्रदर्शन गर्दै ३२ बलमा ५३ रनको अर्धशतक प्रहार गरे। उनले यसअघि विराटनगर किङ्सविरुद्ध पनि अर्धशतक हानेका थिए।
जारी प्रतियोगितामा अहिलेसम्म आठ खेलाडीले अर्धशतक प्रहार गरेका छन्—कुशल भुर्तेल, रवि बोपरा, जोश ब्राउन, हरमित सिंह, लोकेश बम, मार्टिन गुप्टिल, प्रियान्क पन्चाल र आशिफ शेख।


