काठमाडौँ: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा शुक्रबार अपराह्न ४ बजे दुई टोलीबीच प्रतिस्पर्धा तय गरिएको छ।
तीन खेल खेलेको विराटनगर किंग्स अहिलेसम्म अपराजित छ। पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको विराटनगरले दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ५ विकेटले र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै लगातार तीन जित दर्ता गरेको छ।
उता चितवन राइनोजले दुई खेलमध्ये एक जित र एक हार निकालेको छ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरे पनि दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हार व्यहोरेको थियो।
अंकतालिकामा विराटनगर ६ अंकसहित दोस्रो स्थानमा छ, जबकि दुई खेल खेलेको चितवनले २ अंक जोडेर पाँचौँ स्थान ओगटेको छ। शीर्ष चारमा रहेर प्लेअफ यात्रा कायम राख्न चितवनका लागि आजको खेल अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।
चितवन राइनोजमा कप्तान कुशल मल्लसहित विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब रहेका छन्।
विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गरिरहेका छन्। टोलीमा सन्दीपसहित बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शंकर राना, शुभम रञ्जने र सूर्य तामाङ समावेश छन्।


