काठमाडौं । लामो समयदेखि समस्याग्रस्त अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी थालेको छ। उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै सरकारले चुनढुंगा तथा रातोमाटो उत्खननको रद्द भएको अनुमतिपत्र पुनः जारी गर्ने निर्णय गरेको हो।
२०८३ साल असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उदयपुर सिमेन्ट उद्योगका लागि चुनढुंगा तथा रातोमाटो उत्खनन अनुमतिपत्र पुनः जारी गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति दिने निर्णय गरेको छ।
खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा १२ को उपदफा (३) बमोजिम साविकमा रद्द गरिएको अनुमतिपत्र पुनः जारी गर्न विभागलाई स्वीकृति दिइएको हो।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा २०८१ साल असोजमा उदयपुर सिमेन्ट उद्योगको चुनढुंगा उत्खनन अनुमति रद्द गरिएको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८१ साल फागुन १ गते उद्योगलाई पत्र पठाउँदै खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम अनुमतिपत्र २०८१ साल मंसिर ६ गतेदेखि लागू हुने गरी रद्द भएको जानकारी गराएको थियो।
हालको सरकारले उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यसहित उक्त अनुमतिपत्र पुनः जारी गर्ने निर्णय गरेको हो। साथै, उद्योगले खानी तथा भूगर्भ विभागलाई तिर्नुपर्ने बक्यौता रकमसमेत सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उदयपुर सिमेन्ट उद्योग लिमिटेडले विभागलाई तिर्नुपर्ने ७४ लाख ९७ हजार ३३१ रुपैयाँ ९५ पैसा अर्थ मन्त्रालयले उपलब्ध गराउनेछ। स्रोतका अनुसार निर्णयपछि अर्थ मन्त्रालयले उक्त रकम विभागलाई उपलब्ध गराइसकेको छ।
सरकारले अब उद्योग सञ्चालनका लागि थप प्रशासनिक प्रक्रिया अघि बढाउने तयारी गरेको छ। महाप्रबन्धक नियुक्त गरी व्यवस्थापनलाई सक्रिय बनाउँदै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको योजना छ।
उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता दैनिक ८०० मेट्रिक टन रहेको छ। तर, लामो समयदेखि विभिन्न समस्या झेल्दै आएको उद्योगले आफ्नो पूर्ण उत्पादन क्षमता उपयोग गर्न सकेको छैन।
जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०४४ सालमा निर्माण भएको यो उद्योग कुनै समय नेपालको प्रमुख सिमेन्ट उद्योगका रूपमा स्थापित थियो। आर्थिक वर्ष २०७३/७४ मा यसलाई नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग कम्पनीका रूपमा समेत चिनिन्थ्यो।
उद्योग उदयपुरको त्रियुगा नगरपालिका–११, जलजलेमा अवस्थित छ। उद्योगका लागि आवश्यक चुनढुंगा जिल्लाकै उत्तरी भेगमा रहेको सुकौराबाट ल्याउने व्यवस्था गरिएको छ। चुनढुंगा ढुवानीका लागि सुकौरादेखि उद्योगसम्म रोपवे सञ्चालन गर्न आवश्यक पूर्वाधारसमेत निर्माण गरिएको थियो।
उदयपुर सिमेन्ट उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालन गर्न सके स्वदेशी सिमेन्ट उत्पादन बढ्नुका साथै आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। अनुमतिपत्र पुनः जारी, बक्यौता व्यवस्थापन र व्यवस्थापन सुदृढीकरणको प्रक्रिया अघि बढेसँगै लामो समयदेखि समस्यामा रहेको उद्योग पुनः सञ्चालनमा आउने बाटो खुलेको छ।


