Sunday, April 26, 2026
Homeशिक्षाइलाम सीमा क्षेत्रका बासिन्दाको बाध्यता: घर नेपालमा शिक्षा भारतमा

इलाम सीमा क्षेत्रका बासिन्दाको बाध्यता: घर नेपालमा शिक्षा भारतमा

मङ्गलबारे (इलाम): नेपाल-भारत सीमा क्षेत्रका बालबालिकाहरू नेपालमा विद्यालय अभावका कारण भारतीय विद्यालयमा पढ्न बाध्य भएका छन्। इलामका दुर्गम भेगका बासिन्दाले नजिक विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई भारतमै पढाउनुपरेको गुनासो गरेका छन्।

विद्यालय अभावले भारततर्फ निर्भरता

इलामको सन्दकपुर गाउँपालिका–५ की ९ वर्षीया पेमा तामाङ घर नेपालमै भए पनि भारतको विद्यालयमा पढ्न बाध्य छिन्। नेपालपट्टि विद्यालय नहुँदा उनलाई भारतमै छात्रावासमा बसेर अध्ययन गर्नुपरेको छ।

स्थानीय दावा लामाका अनुसार नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएपछि सीमा क्षेत्रका अभिभावकले आफ्ना बालबालिकालाई भारतीय विद्यालयमा भर्ना गर्नुपरेको छ। कतिपयले भारतमै छात्रावासमा राखेका छन् भने केहीले कोठा भाडामा लिएर पढाइरहेका छन्।

बन्द हुँदै नेपाली विद्यालय, पढ्न भारत जाने बाध्यता

मानेभन्ज्याङलगायत भारतका सीमावर्ती क्षेत्रका विद्यालयहरूमा नेपालका धेरै विद्यार्थी अध्ययन गर्छन्। प्राथमिक तहका बालबालिकालाई टाढाको विद्यालयमा पठाउनुपर्ने अवस्था हुँदा अभिभावक चिन्तित छन्। नेपालतर्फ विद्यार्थी संख्या घट्दै जाँदा सामुदायिक विद्यालयहरू बन्द हुने क्रम बढेको छ।

इलामका उत्तरी क्षेत्रहरू जस्तै सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, र सूर्योदय नगरपालिकाका बस्तीहरूमा विद्यालयको अभाव गम्भीर बनेको छ।

जौबारी, मेघमा, कालपोखरीजस्ता ठाउँमा विद्यालय बन्द भएपछि त्यहाँका बालबालिकालाई प्राथमिक तहदेखि नै भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता भएको स्थानीय सोनाम शेर्पाले बताए। “लेकाली क्षेत्र भएकाले जनसंख्या कम छ। विद्यालय सञ्चालन गर्न विद्यार्थी संख्या पुग्दैन,” उनले भने।

विद्यालय बन्द हुँदै जाँदा समस्या गहिरिँदै

सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय २०७२ सालमा विद्यार्थी अभावका कारण बन्द भएको स्थानीय डोमा शेर्पाले बताइन्। हाल जौबारीबाट मात्रै १४ जना विद्यार्थी भारतको विद्यालयमा पढ्न जान्छन्। भित्तेमा रहेको विद्यालय पनि तीन वर्षअघि अन्यत्र सारिएको छ, जसका कारण समस्या झन् बढेको छ।

सन्दकपुर–५ कालपोखरीको प्राथमिक विद्यालय, माईजोगमाई–२ मेग्माको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ मजुवाको प्राथमिक विद्यालय बन्द भएपछि बालबालिकाहरूको शिक्षामा असर परेको छ। माईजोगमाई–२ स्थित ज्योति विद्यालय पुग्न चार घण्टा लाग्ने हुँदा त्यहाँ अध्ययन सम्भव छैन। अन्य गाउँपालिकाका विद्यार्थीलाई नयाँबजारसम्म जानुपर्ने बाध्यता छ, जुन तीनदेखि चार घण्टाको यात्रा पर्छ।

शिक्षा खर्च महँगो, अभिभावकहरू समस्यामा

लामो दूरी तय गर्नुपर्ने भएकाले अभिभावकहरूलाई बालबालिकालाई विद्यालय पुर्याउन समय अभाव हुन्छ। “एउटा बच्चालाई पढाउन पनि ठूलो खर्च लाग्छ। छात्रावासमा राख्नुपर्छ वा कोठा भाडामा लिएर बस्नुपर्छ,” स्थानीय फुर्वा शेर्पाले भने।

माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीका अनुसार जौबारी, गुराँसे, मेग्मालगायत क्षेत्रका करिब ३५ जना विद्यार्थी नेपालका विद्यालय जानबाट वञ्चित छन्। सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाहरू पनि नजिकको विद्यालय नभएर भारतमै पढ्न बाध्य छन्।

सीमावर्ती बालबालिकाको भविष्य अनिश्चित

सीमा क्षेत्रका केही बालबालिकाहरू घरबाटै विद्यालय जान्छन् भने केहीले बस वा अन्य सवारीसाधन प्रयोग गर्छन्। मानेभन्ज्याङ तुमलिङबाट ११ किलोमिटरको दूरीमा छ, जसका लागि केही अभिभावकहरूले यातायातको सहयोगमा बालबालिकालाई विद्यालय पुर्याउने गरेका छन्।

स्थानीय बासिन्दाले विद्यालय पुनः सञ्चालनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै शिक्षा पहुँचयोग्य बनाउन पहल गर्न माग गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका