काठमाडौं । इन्डोनेसियाका विभिन्न क्षेत्रमा भीषण डढेलो फैलिएको छ। केही क्षेत्रमा डढेलो कैयौँ हप्तादेखि निरन्तर फैलिरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
देशका सुमात्रा र कालिमन्तान क्षेत्रका वन क्षेत्रमा लागेको डढेलोका कारण बाक्लो धुवाँ र तुवालो फैलिएको छ। यसबाट लाखौँ मानिस प्रभावित भएका छन्।
धुवाँ र तुवालोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि हजारौँ मानिस उपचारका लागि अस्पताल भर्ना भएका छन्।
डढेलो नियन्त्रणका लागि इन्डोनेसियाले ‘क्लाउड सिडिङ’ अर्थात् कृत्रिम वर्षा गराउने प्रविधि तथा दमकल विमानको प्रयोग गरिरहेको छ। आगलागी नियन्त्रणमा ल्याउन विभिन्न क्षेत्रमा उद्धार तथा अग्निनियन्त्रण टोली परिचालन गरिएको छ।
इन्डोनेसियामा लागेको डढेलोबाट निस्किएको धुवाँ र तुवालोको प्रभाव छिमेकी मुलुक मलेसिया र फिलिपिन्ससम्म परेको छ। ती देशका केही क्षेत्रमा समेत आकाश बाक्लो तुवालोले ढाकिएको बताइएको छ।


