काठमाडौँ— वरिष्ठ पत्रकार तथा अध्यात्मचिन्तक आचार्य कमल रिजालको पाँचौँ उपन्यास शकुन्तला सार्वजनिक भएको छ। पौराणिक आख्यानमा आधारित भए पनि यो उपन्यास परम्परागत धारणा र व्याख्याभन्दा भिन्न दृष्टिकोणबाट लेखिएको छ।
शकुन्तला उपन्यासमा हिन्दू समाजमा आदिम युगदेखि प्रचलित मातृसत्ताको अवस्था र त्यसमा पितृसत्ताले कहिलेदेखि कसरी प्रभुत्व जमायो भन्ने विषयमा विश्लेषण गरिएको छ। लेखकका अनुसार उपन्यासले समाजमा लामो समयदेखि जरा गाडेर बसेका बेथिति, विभेद र वैमनस्यका कारणहरू उजागर गर्दै सुखी, समुन्नत समाज निर्माणको सूत्र प्रस्तुत गर्ने प्रयास गरेको छ।
प्रकाशक शिखा बुक्सका अनुसार उपन्यासले हिन्दू संस्कार र संस्कृतिभित्र लुकेका अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्ने उद्देश्य राखेको छ।


