Friday, April 17, 2026
Homeअर्थ र ब्यापारअर्थमन्त्री वाग्ले: आगामी बजेट ऐतिहासिक, ‘ग्रे लिष्ट’बाट बाहिरिन सुशासनमा जोड

अर्थमन्त्री वाग्ले: आगामी बजेट ऐतिहासिक, ‘ग्रे लिष्ट’बाट बाहिरिन सुशासनमा जोड

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन्।

आज बिहान भएको भेटमा उनले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार सुशासन सुदृढ गर्न केन्द्रित रहेको बताए। “नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ, त्यसका लागि सुशासनका काम गर्नुपर्छ,” उनले भने, “जनमत पनि यही हो, हामी यसैमा केन्द्रित छौँ।”

अर्थमन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको स्पष्ट पार्दै अर्थतन्त्र रूपान्तरण गर्ने दिशामा काम भइरहेको बताए। “आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ,” उनले भने, “अब नेपालको अर्थतन्त्रका लागि स्वर्णिम समय आउँदैछ, हल्ला र गलत अफवाहको पछि नलागौँ।”

उनका अनुसार केही अनुसन्धान पुरानै भए पनि अन्तिम चरणमा पुगेका छन्। उनले अपराध गर्नेहरूलाई उन्मुक्ति नदिने तर कसैप्रति छानीछानी प्रतिशोध पनि नलिइने स्पष्ट पारे। साथै सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै आफ्नो पहिलो निर्णयले नै त्यसको संकेत दिएको उनको भनाइ थियो।

शेयर बजारबारे उनले सरकारको धारणा स्पष्ट पार्दै आफ्नो पार्टी बजारप्रति उदार रहेको र घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताए। बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे।

भेटमा एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मी लगायत प्रतिनिधिहरूले बजारमा गलत हल्ला फैलिएको गुनासो गरेका थिए। उनीहरूले केही समूहले साना लगानीकर्तालाई त्रसित बनाउने उद्देश्यले अफवाह फैलाइरहेको बताएका थिए।

प्रतिनिधिहरूले संस्थागत लगानीकर्ताका लागि सहज वातावरण आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि गोप्य रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे। साथै पूँजीबजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन गर्न सरकारसँग माग गरेका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका