Tuesday, June 30, 2026
Homeअन्तराष्ट्रियअमेरिकासँग नयाँ वार्ता नहुने इरानको स्पष्ट सन्देश, एमओयू कार्यान्वयनमै केन्द्रित

अमेरिकासँग नयाँ वार्ता नहुने इरानको स्पष्ट सन्देश, एमओयू कार्यान्वयनमै केन्द्रित

तेहरान। इरानले संयुक्त राज्य अमेरिकासँग तत्काल कुनै नयाँ वा प्रत्यक्ष कूटनीतिक वार्ता नहुने स्पष्ट पारेको छ। अमेरिकासँग उच्चस्तरीय वार्ता हुन लागेको भन्ने समाचारहरूलाई अस्वीकार गर्दै तेहरानले अहिलेको प्राथमिकता विद्यमान समझदारी पत्र (एमओयू) को प्रभावकारी कार्यान्वयन रहेको जनाएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तसनीम समाचार एजेन्सीसँग कुरा गर्दै इरान नयाँ राजनीतिक वार्ताभन्दा पनि सम्झौताका प्राविधिक पक्ष कार्यान्वयनमा केन्द्रित रहेको बताए।

उनका अनुसार एमओयूको प्राविधिक अनुगमनका लागि इरानी विशेषज्ञहरूको टोली यसै साता कतारको राजधानी दोहा जानेछ। उनले सम्झौता कार्यान्वयनप्रति इरान सधैं प्रतिबद्ध रहेको पनि दोहोर्याए।

बाघाईका अनुसार अमेरिकाले सम्झौताअनुसार इरानी तेल निर्यातलाई सहज बनाउन आवश्यक अनुमति जारी गरिसकेको छ। अहिले इरानले विशेषगरी सम्झौताको धारा ११ अन्तर्गत वित्तीय सम्पत्तिको व्यवस्थापन र नियन्त्रणसम्बन्धी प्रावधानको कार्यान्वयनलाई नजिकबाट निगरानी गरिरहेको छ।

उनले अमेरिकी प्रतिनिधिमण्डलको कतार भ्रमण इरानी टोलीको कार्यसूचीसँग सम्बन्धित नरहेको स्पष्ट पार्दै यस अवधिमा नयाँ कूटनीतिक वार्ता हुने विषयमा आएका अनुमानहरूको पनि खण्डन गरे।

प्रवक्ता बाघाईले धारा १, ४, ५, १० र ११ को प्रभावकारी तथा दिगो कार्यान्वयनपछि मात्र अन्तिम सम्झौताका लागि औपचारिक वार्ताको चरणमा प्रवेश गर्न सकिने बताए।

यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार दोहामा इरानसँग उच्चस्तरीय वार्ता हुने घोषणा गरेलगत्तै आएको हो। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार विशेष दूत स्टिभ विटकोफ पनि त्यसका लागि दोहा प्रस्थान गरिसकेका छन्।

यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेस्कियनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको व्यवहारका आधारमा इरानले पनि आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्ने बताएका छन्। उनले आपसी समझदारी दुई पक्षको समान प्रतिबद्धतामा आधारित हुने उल्लेख गर्दै अमेरिका सम्झौताप्रति इमानदार भए इरान पनि आफ्ना दायित्व पूरा गर्न तयार रहेको स्पष्ट पारे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका