Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियअमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लियो, शासन अस्थायी रूपमा...

अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लियो, शासन अस्थायी रूपमा आफैं चलाउने घोषणा

२० पुस, काठमाडौँ । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको जनाएको छ। भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म अमेरिकाले नै शासन सञ्चालन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न शहरमा आक्रमण गरेको थियो। त्यसलगत्तै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको जनाइएको छ। डेल्टा फोर्स अमेरिकी सेनाको प्रमुख आतंकवादविरोधी विशेष इकाइ हो।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको नियन्त्रणमा रहेका मादुरोको तस्बिर सार्वजनिक गर्दै मादुरो दम्पतीलाई नियन्त्रणमा लिइएको औपचारिक जानकारी दिएका थिए। ट्रुथ सोसलमा सार्वजनिक तस्बिरमा मादुरोको हातमा हतकडी र आँखामा कालोपट्टी बाँधिएको देखिन्छ।

यसैबीच, फ्लोरिडास्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भेनेजुएलामा सुरक्षित, सही र विवेकपूर्ण रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन सञ्चालन गर्ने बताएका छन्।

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले मादुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मुद्दा दायर गरिने जनाएको छ। अमेरिकाले मादुरोमाथि लागुऔषध कारोबारलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ।

अमेरिकी अटर्नी जनरल पामेला बन्डीले सामाजिक सञ्जाल एक्समार्फत मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयात, हतियार तथा खतरनाक उपकरण राख्ने र त्यसमा संलग्न रहेको अभियोग लगाइएको उल्लेख गरेकी छन्। उनले मादुरोले चाँडै अमेरिकी अदालतमा अमेरिकी न्यायको सामना गर्ने बताएकी छन्। यद्यपि, मादुरोकी पत्नीमाथि लाग्ने आरोपबारे खुलाइएको छैन।

यस घटनाप्रति रूस, चीन, कोलम्बियालगायत विभिन्न देशहरूले अमेरिकाको कदमको निन्दा गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका