काठमाडौं । अमेरिका र इरानले एकअर्कामाथिको सैन्य आक्रमण रोक्ने तथा आणविक तथा क्षेत्रीय सुरक्षासम्बन्धी वार्तालाई निरन्तरता दिने सहमति गरेका छन्।
बीबीसी फारसीका अनुसार एक अमेरिकी अधिकारीले समाचार संस्था एएफपीलाई पठाएको इमेलमा दुवै पक्षबीच प्राविधिक तहका छलफलहरू निरन्तर जारी रहने र तत्काल कुनै पनि पक्षबाट तनाव बढाउने गतिविधि नगर्ने सहमति भएको जानकारी दिएका छन्।
अधिकारीका अनुसार जहाजहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गरिनेछ र समुद्री मार्गको सुरक्षामा पनि दुवै पक्षले सहकार्य गर्ने समझदारी बनेको छ।
यसैबीच, दुई अमेरिकी अधिकारी र विषयमा जानकार एक स्रोतलाई उद्धृत गर्दै एक्सियोसले अमेरिका र इरानबीचको वार्ता मंगलबार कतारको राजधानी दोहामा पुनः सुरु हुने जनाएको छ।
सीएनएनले पनि एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै दुवै देशका प्रतिनिधिमण्डलहरू मंगलबार दोहामा भेटेर वार्तालाई अगाडि बढाउने तयारीमा रहेको जनाएको छ।
यद्यपि, इरानी अधिकारीहरूले भने वार्ता पुनः सुरु हुने सम्बन्धमा अहिलेसम्म कुनै औपचारिक पुष्टि गरेका छैनन्।
पछिल्ला केही दिनयता स्ट्रेट अफ होर्मुजको समुद्री मार्गको व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच विवाद चर्किएको थियो। दुवै पक्षबाट भएका सैन्य कारबाहीले क्षेत्रीय तनाव बढाएपछि युद्धविराम कायम रहन्छ वा रहँदैन भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ।
यस्तो अवस्थामा दुवै देशबीच वार्ता पुनः सुरु हुने तयारीलाई मध्यपूर्वमा तनाव कम गर्ने सकारात्मक कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।


