रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै सिरिजमा पहिलो जित दर्ता गरेको हो।

नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडाले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २११ रन मात्रै बनाउन सक्यो।

क्यानडाका लागि एरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित पटेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रनको योगदान दिए।

नेपालका नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई–दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको थियो। नेपालका पूर्वकप्तान रोहित पौडेलले शतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

रोहितले १२५ बलमा आठ चौका र एक छक्काको मद्दतले १०१ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो तेस्रो शतक हो। उनले यसअघि सन् २०२२ मा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध १२६ र सन् २०२५ मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १०९ रन बनाएका थिए।

नेपालका लागि गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाए।

क्यानडाका बलर अखिल कुमारले चार विकेट लिए भने सुख्जिन्द सिंहले तीन र जाहिद शिजादले दुई विकेट हात पारे।

सिरिजको आफ्नो अर्को खेलमा नेपालले मंगलबार आयोजक ओमानको सामना गर्नेछ।

लिङ्क सफलतापूर्वक कापि गरियो!