काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ।
कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौंको जितमा रशिद खानले सर्वाधिक ५० रन बनाए। कप्तान करण केसीले ४४, जहानदाद खानले २२, आदिल आलमले २० र डेभिड वार्नरले १६ रनको योगदान दिए।
बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसैन तलतले समान २ विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। हुसैन तलतले ४०, पवन सर्राफले ३०, गुलशन झाले २० र मार्क वाटले १७ रन जोडे।
काठमाडौंका करण केसीले २ विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक–एक विकेट लिए।
यो काठमाडौं गोर्खाजको दोस्रो खेलमा पहिलो जित हो। यससँगै कर्णाली याक्सले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको छ।