काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा ओमानलाई ११३ रनले पराजित गरेको छ। मंगलबार ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो।
ओमानको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपाली बलर नन्दन यादव र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले समान १–१ विकेट हात पारे।
ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। अर्जुन कुमाल र करण केसीले समान ४० रन तथा बशीर अहमद र इशान पाण्डेले समान ३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
ओमानका बलर साह फैजल, शकील अहमद र करण सोनावालेले समान २–२ विकेट लिए भने हसनैन शाहले १ विकेट हात पारे।
यस जितसँगै नेपालले लिग–२ को अंकतालिकामा ३४ खेलबाट २८ अंक जोडेको छ। नेपाल हाल अंकतालिकाको छैटौँ स्थानमा रहेको छ।
नेपालले अब अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।