काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल समय परिवर्तन गरिएको छ।
डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि लागू हुने भएपछि यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समय संशोधन गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
संशोधित तालिकाअनुसार एकै दिन दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजेबाट सुरु हुनेछ। त्यस्तै, एक खेल मात्र हुने दिनमा पनि खेल साँझ ५ बजे सुरु हुने व्यवस्था गरिएको छ।
यसअघि दुई खेल हुने दिन दोस्रो खेल अपराह्न ४:३० बजे र एक खेल मात्र हुने दिनको खेल पनि ४:३० बजे सुरु हुने गरी तालिका सार्वजनिक गरिएको थियो। डीआरएस प्रविधि लागू भएसँगै खेल सञ्चालनको समय मिलाउन तालिका संशोधन गरिएको हो।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
