क्यानडाविरुद्ध जित निकाल्दै शीर्ष ६ मा स्थान पक्का गर्ने लक्ष्यमा नेपाल

क्यानडाविरुद्ध जित निकाल्दै शीर्ष ६ मा स्थान पक्का गर्ने लक्ष्यमा नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानको अल अमरात क्रिकेट मैदानमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने खेल दुवै टोलीका लागि लिग तालिकाको शीर्ष ६ मा स्थान सुरक्षित गर्ने दृष्टिले महत्वपूर्ण छ।

तालिकामा ३४ खेलबाट २८ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ। नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि रहेको छ। आजको खेलमा जित हासिल गर्न सके नेपालले एक खेल बाँकी छँदै शीर्ष ६ मा स्थान पक्का गर्नेछ।

जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल उत्कृष्ट लयमा देखिएको छ। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले हराएको थियो। लगातार दुई जित निकालेको नेपाल आजको खेलमा पनि सोही लय कायम राख्दै तेस्रो जित दर्ता गर्ने लक्ष्यमा छ।

यता, क्यानडा पनि नेपाललाई हराउँदै शीर्ष ६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ। क्यानडाले आफ्नो पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको थियो। उक्त खेलमा २५६ रन बनाएको क्यानडाको ब्याटिङ चुनौतीलाई रोक्नु नेपाली बलरका लागि महत्वपूर्ण हुनेछ।

जारी शृङ्खलाका दुवै खेलमा नेपालले पहिले ब्याटिङ गर्दै क्रमशः २३५ र २६३ रन बनाएको थियो। ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरिरहेको नेपाल आज पनि जितको खोजीमा मैदान उत्रनेछ।

हालसम्म नेपाल र क्यानडाबीच भएका छ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। आपसी प्रतिस्पर्धामा बलियो देखिएको नेपाल आजको खेलमा पनि आफ्नो सफलतालाई निरन्तरता दिँदै शीर्ष ६ मा स्थान सुरक्षित गर्न चाहन्छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!