कमजोर फिल्डिङ र धैर्यताको कमीले हार बेहोर्नुपर्‍यो : सन्दीप लामिछाने

कमजोर फिल्डिङ र धैर्यताको कमीले हार बेहोर्नुपर्‍यो : सन्दीप लामिछाने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्।

बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए।

खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट लिइसकेको अवस्थामा पनि दबाब कायम राख्न नसकेको उनको भनाइ थियो।

‘हामीले सात–आठ ओभरसम्म एकदम राम्रो गरिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थियो। चार–पाँच विकेट लिइसकेका थियौँ। तर इनिङ नसकिँदासम्म धैर्य राख्नुपर्ने थियो, जुन हामीले गर्न सकेनौँ,’ उनले भने।

सन्दीपले टोलीको सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रहेको स्वीकार गरे। उनका अनुसार टोलीले चारदेखि पाँचवटासम्म क्याच छाडेको थियो। विशेषगरी दोस्रो इनिङमा बलिङ गर्न कठिन परिस्थिति रहे पनि फिल्डिङमा सुधार गर्न नसक्दा टोलीले त्यसको मूल्य चुकाउनुपरेको उनले बताए।

‘हामीले आज एकदमै कमजोर फिल्डिङ गर्‍यौँ। टिमका रूपमा चार–पाँचवटा क्याच छाड्यौँ। यस्तो अवस्थामा बलरहरूलाई खासै सहयोग हुँदैन। ड्यु फ्याक्टर थियो, पिचले पनि साथ दिइरहेको थिएन। यस्तो अवस्थामा फिल्डिङमा पनि कमजोर प्रदर्शन हुनु कुनै पनि टिमका लागि स्वीकार्य हुँदैन,’ उनले भने।

उनले समग्रमा टोलीको ब्याटिङ र बलिङ खराब नभए पनि राम्रो प्रदर्शनलाई जितमा बदल्न नसकेको बताए। अघिल्लो खेलमा पनि राम्रो ब्याटिङ गरिरहेका बेला विकेट गुमाएको र यस खेलमा पनि विपक्षीलाई खेलमा फर्किने अवसर दिएको उनको भनाइ थियो।

कर्णालीविरुद्ध १८७ रन बनाउनु राम्रो स्कोर भएको उल्लेख गर्दै उनले सुरुवाती चरणमा विपक्षीका विकेट लिए पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए।

‘हामीले छिट्टै पाँच विकेट लिएका थियौँ। पावरप्लेमा पनि तीन–चार विकेट निकालेका थियौँ। तर त्यसपछि झन्डै १० भन्दा बढी गल्ती गर्‍यौँ। तीमध्ये सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो,’ उनले भने।

कर्णालीका सोमपाल कामी, पवन र गुलशन झाबीचको साझेदारी तथा अन्तिम चरणको प्रदर्शनको प्रशंसा गर्दै सन्दीपले जितको श्रेय विपक्षी टोलीलाई दिए।

त्यस्तै, उनले लोकेशको ब्याटिङ प्रदर्शनको पनि प्रशंसा गरे। लोकेशले आफ्नो क्षमतामाथि विश्वास गर्दै चुनौतीपूर्ण अवस्थामा समेत राम्रो प्रदर्शन गरिरहेको उनले बताए।

खेलको अन्तिम चरणसम्म पनि आफूले टोलीलाई जिताउन सक्ने विश्वास राखेको सन्दीपले सुनाए। दोस्रो इनिङमा बलिङ गर्न कठिन भए पनि आफू खेल जिताउने योजनासहित मैदानमा उत्रिएको उनको भनाइ थियो।

‘मलाई अन्तिम ओभरसम्म पनि यो खेल टिमका लागि जिताउन सक्छु भन्ने विश्वास थियो। आठ ओभर बाँकी हुँदा पनि म संघर्ष गर्न तयार थिएँ। तर क्रिकेटमा यस्ता क्षणहरू आउँछन्। खेलले हामीलाई सिकाएको छ,’ उनले भने।

हारका बाबजुद टोलीले समग्रमा राम्रो क्रिकेट खेलिरहेको दाबी गर्दै सन्दीपले आगामी खेलमा गल्ती सुधार गर्ने बताए। उनले कर्णाली याक्सलाई जितका लागि बधाई दिँदै क्रिकेटमा एउटा टोलीले जित्ने र अर्कोले हार्ने भएकाले विजयी टोलीलाई श्रेय दिनुपर्ने धारणा राखे।

लिङ्क सफलतापूर्वक कापि गरियो!