काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै पुरानो हारको बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा विगतमा प्लेअफसम्म पुग्न नसकेको इतिहास बदल्दै यसपटक उत्कृष्ट प्रदर्शन गर्ने दाउमा छ ।
यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स पहिलो खेलमा व्यहोरेको हार बिर्सेर जितको लयमा फर्कन चाहन्छ । लगातार दुई संस्करणमा फाइनलसम्म पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक उपाधि उचाल्ने लक्ष्यमा छ ।
कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गते हुनेछ ।