एनपीएलले नेपाललाई खेल पर्यटनको गन्तव्यका रूपमा चिनाउनेछ : मन्त्री पोखरेल

एनपीएलले नेपाललाई खेल पर्यटनको गन्तव्यका रूपमा चिनाउनेछ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका साथै नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने बताएका छन्।

एनपीएलको तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा अघि बढिरहेको प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

उद्घाटन समारोहमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्यको संकेत गरेको उनको भनाइ थियो। उनले खेलप्रेमीको अपार समर्थनले नेपाली खेल क्षेत्रको सम्भावना र भविष्यप्रति ठूलो आशा जगाएको बताए।

‘खेलप्रेमीहरूको अपार समर्थनले खेल क्षेत्रको बढ्दो सम्भावना र भविष्यप्रति ठूलो आशा जगाएको छ। यो आकर्षणलाई नेपाली खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने बलियो आधारका रूपमा लिएको छु,’ उनले भने।

प्रतियोगितामा सहभागी हुन नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिहरूलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटसँगै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अविस्मरणीय अनुभव लिएर फर्कने अपेक्षा व्यक्त गरे।

उनले प्रतियोगितामा सहभागी सबै टोली तथा खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै एनपीएलले नेपाली क्रिकेटको लोकप्रियता र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

लिङ्क सफलतापूर्वक कापि गरियो!