एनपीएलमा विदेशी स्टारको चमक, नेपाली प्रतिभाको भविष्यबारे बहस

एनपीएलमा विदेशी स्टारको चमक, नेपाली प्रतिभाको भविष्यबारे बहस

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको तयारी पूरा भएसँगै यसपटक विश्व क्रिकेटका चर्चित विदेशी खेलाडीहरूको सहभागिताले पनि विशेष चर्चा पाएको छ।

एनपीएल अब घरेलु क्रिकेट प्रतियोगितामा मात्र सीमित छैन। यो नेपाली क्रिकेटको व्यावसायिक विकास, खेल पर्यटन र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान विस्तार गर्ने माध्यमका रूपमा समेत हेरिएको छ। यद्यपि, विदेशी खेलाडीहरूको बढ्दो उपस्थितिसँगै नेपाली खेलाडीले पाउने अवसर र उनीहरूको दीर्घकालीन विकासबारे बहस पनि सुरु भएको छ।

विदेशी स्टारको उपस्थितिले बढ्यो आकर्षण

यसअघिका दुई संस्करणमा पनि विदेशी खेलाडीहरूले सहभागिता जनाएका थिए। पहिलो संस्करणमा भारतीय क्रिकेटर शिखर धवनको सहभागिताले विशेष चर्चा पाएको थियो। यसपटक भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त प्रतियोगितामा विभिन्न देशका चर्चित खेलाडीहरू सहभागी हुने भएपछि एनपीएलप्रतिको आकर्षण थप बढेको छ।

मोइन अली, शाकिब अल हसन, रबी बोपारा, डेभिड वार्नर, जिमी निसम, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, इफ्तिकार अहमद र शेर्फान रदरफोर्डलगायतका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा थप चर्चित बनाउने अपेक्षा गरिएको छ।

विदेशी खेलाडीहरूको आगमनले प्रतियोगिताको व्यावसायिक मूल्य, दर्शक आकर्षण र प्रायोजनको सम्भावना बढाउन सक्ने देखिन्छ। तर, आईसीसीको मान्यता प्राप्त प्रतियोगितामा भारतका खेलाडीहरूको उल्लेख्य सहभागिता नदेखिनुलाई केही क्रिकेट विश्लेषकले चासोका रूपमा लिएका छन्।

खेल समीक्षक तथा साहित्यकार रमेश रञ्जनले भारतीय खेलाडीहरूको सहभागिता नेपालका लागि महत्त्वपूर्ण हुने बताएका छन्। उनका अनुसार नेपाली क्रिकेटमा भारतीय खेलाडीको प्रभाव र लोकप्रियता उल्लेख्य छ।

अग्रज खेल पत्रकार तथा समीक्षक मुकुन्द दाहाल पनि भारतीय खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटप्रेमीलाई थप आकर्षित गर्न सक्ने बताउँछन्। उनका अनुसार नेपाली खेलाडीले भारतीय क्रिकेट हेरेर आफ्नो खेलजीवन अघि बढाएका उदाहरणसमेत छन्।

नेपाली प्रतिभाले पर्याप्त अवसर पाउलान्?

विदेशी खेलाडीहरूको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसर प्रदान गर्न सक्छ। उनीहरूसँग एउटै टोलीमा खेल्ने, अभ्यास गर्ने र खेल रणनीतिबारे सिक्ने अवसरले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुग्न सक्छ।

तर, विदेशी खेलाडीहरूको प्रभाव बढ्दै जाँदा घरेलु खेलाडीले निर्णायक भूमिका पाउने अवसर घट्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

क्रिकेट प्रशंसक तथा विश्लेषक सञ्जय ढुङ्गानाले विदेशी खेलाडीको आकर्षणले मात्र नेपाली क्रिकेटको विकास सुनिश्चित नहुने धारणा राखेका छन्। उनका अनुसार नेपाली प्रतिभाको विकासलाई प्राथमिकतामा राख्न आवश्यक छ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ता भने विदेशी खेलाडीहरूको सहभागितालाई नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा हेर्छन्। उनका अनुसार यसले खेल पर्यटन प्रवर्द्धन, लगानी आकर्षण र नेपाली क्रिकेटको बजार विस्तारमा योगदान पुर्‍याउन सक्छ।

सप्तरीका पूर्वखेलाडी मोहन मिश्र विदेशी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नु नेपाली युवाका लागि महत्त्वपूर्ण सिकाइ भए पनि उनीहरूले पर्याप्त अवसर पाउने सुनिश्चितता हुनुपर्ने बताउँछन्। उनका अनुसार निर्णायक भूमिकामा विदेशी खेलाडी मात्र हाबी भए घरेलु खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर गुमाउन सक्छन्।

सर्लाहीका क्रिकेटप्रेमी तथा विश्लेषक विश्वमणि दाहाल भने यस विषयलाई सन्तुलित रूपमा हेर्नुपर्ने बताउँछन्। उनका अनुसार मैदानमा एकैपटक चार जनासम्म विदेशी खेलाडी खेल्न पाउने व्यवस्थाले नेपाली खेलाडीका लागि पर्याप्त स्थान कायम राख्छ। मुख्य चुनौती विदेशी खेलाडीको अनुभवलाई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा रूपान्तरण गर्नु हो।

व्यावसायिक विकाससँगै दीर्घकालीन रणनीति आवश्यक

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विस्तार, व्यवस्थापकीय क्षमता र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन सक्ने भए पनि त्यसको वास्तविक उपलब्धि नेपाली क्रिकेटले दीर्घकालमा हासिल गर्ने प्रगतिबाट मापन हुनेछ।

यसका लागि नेपाली खेलाडीको सीप विकास, नियमित प्रशिक्षण, उत्कृष्ट खेलाडीलाई पर्याप्त अवसर, प्रशिक्षक उत्पादन र युवा क्रिकेटको संरचनागत विकासमा लगानी आवश्यक देखिन्छ।

कीर्तिपुर मैदानमा विदेशी स्टारहरूको प्रदर्शनले दर्शकको ध्यान खिच्ने निश्चित भए पनि एनपीएलको दीर्घकालीन सफलता नेपाली खेलाडीले यसबाट कति सिक्छन् र उनीहरूको क्षमता विकासमा कति योगदान पुग्छ भन्ने विषयसँग जोडिनेछ। विदेशी खेलाडीको अनुभव र नेपाली प्रतिभाको विकासबीच उचित सन्तुलन कायम गर्न सके एनपीएल नेपाली क्रिकेटको व्यावसायिक र खेलस्तरीय रूपान्तरणको महत्त्वपूर्ण माध्यम बन्न सक्छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!