एनपीएलमा विदेशी खेलाडीको कोटा बढ्यो, एक टोलीले आठ जनासम्म राख्न पाउने

एनपीएलमा विदेशी खेलाडीको कोटा बढ्यो, एक टोलीले आठ जनासम्म राख्न पाउने

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बताएका छन्। यसअघि प्रतियोगिताका अघिल्ला दुई संस्करणमा एक टोलीले अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था थियो।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति लिने प्रक्रियासँगै विदेशी खेलाडीको सहभागिता, भ्रष्टाचार नियन्त्रण, अम्पायरिङ, सञ्चारमाध्यमको पहुँच र प्रतियोगिता सञ्चालनसम्बन्धी विभिन्न मापदण्ड लागू हुने जानकारी दिए।

उनका अनुसार आईसीसीले एनपीएल २०२६ का लागि पाँचवटा मुख्य विषयमा अनिवार्य सर्त राखेको छ। तीमध्ये अस्वीकृत क्रिकेट प्रतियोगितामा सहभागिता, विदेशी खेलाडीका लागि अनिवार्य अनापत्ति प्रमाणपत्र (एनओसी) र भ्रष्टाचार नियन्त्रणका उपाय प्रमुख छन्।

खड्काले आईसीसीको मान्यता नपाएका तथा सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट स्वीकृत नभएका प्रतियोगितालाई अस्वीकृत क्रिकेटका रूपमा बुझ्नुपर्ने बताए। एनपीएल सुरु हुनुअघिको लगातार छ महिनाको अवधिमा त्यस्ता प्रतियोगितामा सहभागी भएका खेलाडीले एनपीएल खेल्न नपाउने व्यवस्था गरिएको उनले स्पष्ट पारे।

“डोमेस्टिक प्रतियोगिताले आईसीसीको मान्यता पाएको हुनुपर्छ र सम्बन्धित होम बोर्डले पनि स्वीकृत गरेको हुनुपर्छ। होम बोर्डले पनि एप्रुभ नगरेको प्रतियोगितालाई अस्वीकृत क्रिकेट भनिन्छ। एनपीएल सुरु हुनुअघिको छ महिनाको अवधिमा त्यस्तो क्रिकेटमा सहभागी भएका खेलाडी एनपीएलमा खेल्न योग्य हुने छैनन्,” उनले भने।

विदेशी खेलाडीका लागि अनिवार्य एनओसीको व्यवस्था पनि लागू हुने खड्काले बताए। उनका अनुसार अवकाश लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट एनओसी लिनुपर्नेछ।

“आईसीसीको स्वीकृति आइसकेपछि अवकाश लिएका विदेशी खेलाडीले पनि आफ्नो सम्बन्धित सदस्य बोर्डबाट अनिवार्य एनओसी लिनुपर्ने हुन्छ। फ्रेन्चाइज क्रिकेटमा धेरै खेलाडी सहभागी हुने भएकाले यस विषयमा स्पष्टता आवश्यक छ,” उनले भने।

फ्रेन्चाइज क्रिकेटमा ठूलो रकम र विभिन्न पक्षको स्वार्थ जोडिने भएकाले भ्रष्टाचार नियन्त्रणका उपायलाई विशेष महत्त्व दिनुपर्ने खड्काको भनाइ छ। खेलको निष्पक्षता कायम राख्न पर्याप्त स्रोतसाधन, निगरानी र अनुसन्धानको व्यवस्था आवश्यक रहेको उनले बताए। यसले खेलाडी, टोलीका मालिक, फ्रेन्चाइज र प्रतियोगितासँग सम्बन्धित सबै सरोकारवालाको जिम्मेवारी बढाउने उनको भनाइ थियो।

एनपीएलका लागि आईसीसीले पठाएका आवश्यकताहरू क्यानले स्वीकार गरिसकेको पनि खड्काले जानकारी दिए।

“हिजो राति करिब साढे ६ बजे इमेल आउनासाथ ४०–५० मिनेटभित्रै सबै आवश्यकताहरू स्वीकार गरेर इमेल पठाएका थियौँ। अब केही दिनमा समन्वय गरेर यसको औपचारिक अवस्थाबारे जानकारी गराउनेछौँ,” उनले भने।

आईसीसीको स्वीकृतिसँगै एनपीएलले टी–२० प्रतियोगिताको मान्यता पाउने विषयमा पनि सोमबार साँझसम्म स्पष्ट पारिने उनले बताए। आवश्यक प्रक्रिया पूरा भएपछि आधिकारिक जानकारी सार्वजनिक गरिने र आगामी दुईदेखि तीन दिनभित्र प्रतियोगितासम्बन्धी थप घोषणा गरिने उनको भनाइ थियो।

प्रतियोगितामा नेपाली तथा विदेशी अम्पायरको भूमिका, खेल सञ्चालनका सर्त र निर्णय समीक्षा प्रणाली (डीआरएस) जस्ता विषयलाई समेट्ने गरी काम भइरहेको खड्काले जानकारी दिए।

नेपाली खेलाडीलाई अनिवार्य प्राथमिकता

विदेशी खेलाडीको संख्या बढाइए पनि नेपाली खेलाडीलाई प्राथमिकता दिइने खड्काले स्पष्ट पारे। उनका अनुसार प्रत्येक टोलीले सात नेपाली खेलाडीलाई अनिवार्य रूपमा खेलाउनुपर्ने व्यवस्था छ। विदेशी खेलाडीको छनोट भने सम्बन्धित टोलीले गर्नेछ।

भविष्यमा एसोसिएट राष्ट्रका खेलाडीलाई थप अवसर दिने विषयमा सोच्न सकिने भए पनि हालका लागि प्रत्येक टोलीमा त्यस्ता राष्ट्रका खेलाडी अनिवार्य गर्ने व्यवस्था गर्न नसकिने उनले बताए।

एनपीएलमा सञ्चारमाध्यमको पहुँचबारे बोल्दै खड्काले खेलस्थल प्रवेश, खेलपछिको पत्रकार सम्मेलन, फोटो पत्रकारको कार्यक्षेत्र तथा खेलका दृश्य संकलनसम्बन्धी नियम स्पष्ट बनाइने जानकारी दिए।

नेपालमा आईसीसी एसिया सम्मेलन हुँदै

खड्काले एनपीएलसँगै नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने जानकारी दिए। उनका अनुसार नोभेम्बर १९ देखि २१ सम्म हुने तीनदिने सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट राष्ट्रका क्रिकेट पदाधिकारी सहभागी हुनेछन्।

सम्मेलनमा क्रिकेटको विकास, उदीयमान क्रिकेट राष्ट्रलाई सहयोग र विभिन्न देशबीच सहकार्य विस्तारका विषयमा छलफल हुनेछ। खड्काले सम्मेलन नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट समुदायसमक्ष एनपीएल र नेपालको आतिथ्य प्रदर्शन गर्ने अवसर भएको बताए। अधिकांश प्रतिनिधि नोभेम्बर १७ सम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए।

एनपीएलमा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित व्यक्तित्वलाई सहभागी गराउने तयारी पनि भइरहेको खड्काले बताए। पोखरा एभेन्जर्सले इरफान पठानलाई ब्रान्ड एम्बेसडर घोषणा गरिसकेको र हिमालय स्पोर्ट्सले शोएब अख्तरलाई ल्याउने तयारी गरेको उनले उल्लेख गरे।

लिङ्क सफलतापूर्वक कापि गरियो!