एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट भयो। आक्रामक ब्याटिङका बाबजुद विराटनगरले लक्ष्य पूरा गर्न सकेन।

विराटनगरका लागि ओपनर इमरान शेखले ३१ बलमा चार चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ३९ रन बनाए। त्यस्तै, आन्द्रे रसेलले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन जोडे। लोकेश बमले पनि १४ बलमा २६ रनको आक्रामक पारी खेले।

अन्य ब्याटरमध्ये एन्जिलो म्याथ्यूजले १४, बसिर अहमदले १३ र शुभम रन्जानेले १० रन बनाए। प्रतिस जिसी, रुपेश सिंह र कप्तान सन्दीप लामिछाने भने खाता नखोली आउट भए। नरेन साउद दुई रनमा अविजित रहे। विराटनगरले अतिरिक्त चार रन पाएको थियो।

चितवनको जितमा बलर कमल सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। रिजन ढकालले दुई विकेट हात पार्दा टोम टेलर, रन्जित कुमार, डान माउस्ले र मौसम ढकालले समान एक–एक विकेट लिए।

चितवनका बलरले नियमित अन्तरालमा विकेट लिँदै विराटनगरलाई दबाबमा राखेपछि टोलीले आठ रनको रोमाञ्चक जित निकाल्न सफल भयो।

लिङ्क सफलतापूर्वक कापि गरियो!