काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण नजिकिएसँगै प्रतियोगिताको तयारी तीव्र पारिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुँदैछ।
प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन मैदानको मुख्य पिच स्तरोन्नति, दर्शक प्याराफिटमा थप सिट व्यवस्थापन, भीआईपी बक्स निर्माण तथा मैदान वरपरका पूर्वाधार सुधारका काम भइरहेका छन्। क्यानका उपाध्यक्ष रोशनकुमार सिंहका अनुसार विगतका संस्करणमा देखिएका दर्शक व्यवस्थापन र प्राविधिक समस्यालाई दोहोरिन नदिन आवश्यक तयारी भइरहेको छ।
आईसीसीको मान्यतापछि विदेशी खेलाडीको सहभागिता बढ्ने
दुई संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त भएको आयोजकको भनाइ छ। यससँगै प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
क्यानका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काका अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले बढीमा आठ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। तीमध्ये कम्तीमा एक जना एसोसिएट राष्ट्रको खेलाडी हुनुपर्नेछ। तर, खेलमा सहभागी हुने अन्तिम ११ सदस्यीय टोलीमा सात जना नेपाली र बढीमा चार जना विदेशी खेलाडी राख्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघिका दुई संस्करणमा प्रत्येक टोलीले चारदेखि छ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था थियो। आईसीसीको मान्यतासँगै प्रतियोगिताको सञ्चालन, पारदर्शिता र अनुशासनसम्बन्धी मापदण्डमा पनि थप ध्यान दिनुपर्नेछ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न भएको ६० दिनभित्र विस्तृत समीक्षा प्रतिवेदन आईसीसीलाई बुझाउनुपर्नेछ। म्याच फिक्सिङ, स्पट फिक्सिङ तथा अन्य अनुचित गतिविधि नियन्त्रणका लागि एन्टी करप्सन युनिट (एसीयू) सम्बन्धी नियम पालना गर्नुपर्नेछ। सहभागी विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने व्यवस्था पनि गरिएको छ।
एनपीएलको आधिकारिक टी–२० मान्यतासम्बन्धी प्राविधिक विषयमा आईसीसीसँग पत्राचार भइरहेको क्यानले जनाएको छ। यस संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गर्ने तयारीसमेत भइरहेको आयोजकका अधिकारीहरूले बताएका छन्।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीका अध्यक्ष जय शाहले एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सकारात्मक भूमिका खेलेको भन्दै आभार व्यक्त गरेका छन्। उनका अनुसार आगामी मंसिर १ देखि ३ गतेसम्म नेपालमा आयोजना हुने आईसीसी एसिया सम्मेलनका क्रममा आईसीसीको उच्चस्तरीय टोलीले एनपीएलका खेल अवलोकन गर्न सक्ने सम्भावना छ।
नेपाल टेलिकम मुख्य प्रायोजक
यसपटकको एनपीएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
प्रतियोगिताको मुख्य प्रायोजनका लागि क्यानले सरकारी स्वामित्वको नेपाल टेलिकमसँग सम्झौता गरेको छ। कात्तिक १ गते आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारी र क्यानका महाप्रबन्धक उत्सव ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
अधिकारीले एनपीएलजस्तो ठूलो खेलकुद मञ्चमा सहभागी हुन पाउनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको बताए। उनका अनुसार सहकार्यको उद्देश्य ब्रान्ड प्रवर्द्धनसँगै संस्थागत सामाजिक उत्तरदायित्वमार्फत नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनु हो।
क्यानका महाप्रबन्धक ढकालले नेपाल टेलिकमसँगको सहकार्यले नेपाली क्रिकेटको विकास र विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यसैबीच, प्रतियोगिताको प्रायोजन प्रक्रियामा पारदर्शिताको विषयले पनि चर्चा पाएको छ। विज्ञापन बोर्डका निवर्तमान अध्यक्ष लक्ष्मण हुमागाईँले खेलकुदमा व्यावसायिक प्रायोजन हुनु सकारात्मक भए पनि ठूला वित्तीय सम्झौता पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
एनपीएलप्रति दर्शकको आकर्षण बढ्दो
एनपीएलको तेस्रो संस्करण नजिकिँदै गर्दा देशभरका क्रिकेटप्रेमीमा उत्साह बढेको छ। प्रतियोगिताका खेल प्रत्यक्ष हेर्न विभिन्न जिल्लाबाट दर्शक काठमाडौँ आउने तयारीमा छन्।
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ता पनि जनकपुरबाट काठमाडौँ आएर खेल हेर्ने योजनामा छन्। उनी अघिल्लो संस्करणमा जनकपुर बोल्ट्सको खेल हेर्न काठमाडौँ आएको सम्झन्छन्।
त्यस्तै, साउदी अरबमा कार्यरत नेपाली श्रमिक कुमार कार्कीका अनुसार विदेशमा रहेका धेरै नेपाली एनपीएल हेर्न नेपाल आउने इच्छामा छन्। तर, रोजगारी छाडेर तत्काल स्वदेश फर्कन सहज नहुने उनको भनाइ छ।
अघिल्लो संस्करणमा अन्तिम समयमा टिकट नपाएर खेल हेर्न नपाएका सप्तरीका दीपककुमार झा यसपटक खेलतालिका सार्वजनिक हुनेबित्तिकै टिकटको व्यवस्था गर्ने योजनामा छन्।
दर्शकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आयोजकले प्याराफिटमा थप सिट राख्ने तयारी गरेको छ। यद्यपि, दर्शकको चापअनुसार उपलब्ध सिट पर्याप्त नहुन सक्ने अनुमान पनि गरिएको छ।
एनपीएलको तेस्रो संस्करणले घरेलु क्रिकेटको व्यावसायिक विस्तार, विदेशी खेलाडीको सहभागिता, प्रविधिको प्रयोग र दर्शक व्यवस्थापनका क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा क्रिकेटप्रेमीको चासो बढेको छ।