काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका क्रममा कुल १५० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने दाबी गरेको छ।
क्यानका अनुसार प्रायोजन, टिकट बिक्री तथा प्रसारण र अन्य अधिकारबाट ७५ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान छ। प्रतियोगितामा सहभागी टोलीहरूले पनि सोही हाराहारीमा आर्थिक कारोबार गर्ने अपेक्षा गरिएको छ। क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएल २०२६ को कुल आर्थिक कारोबार १५० करोड रुपैयाँसम्म पुग्ने दाबी गरेका हुन्।
प्रतियोगिताको तेस्रो संस्करणको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
यस संस्करणमा आठ टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन खेल आज साँझ ५ बजे हुनेछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो।
प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।