Tuesday, May 26, 2026
Homeसूचना प्रविधिअष्ट्रेलियामा अहिलेसम्मकै ठूलो लगानी गर्दै गुगल

अष्ट्रेलियामा अहिलेसम्मकै ठूलो लगानी गर्दै गुगल

अष्ट्रेलियन सरकारसँगको विवादका कारण गुगलले गत वर्ष अष्ट्रेलियामा आफ्नो सेवा बन्द गर्नेसम्मको चेतावनी दिएको थियो । तर हाल आएर गुगलले त्यहीँ अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भित्राउने भएको छ ।

गुगलका सीईओ सुन्दर पिचाइले सोमबार एक घोषणा गर्दै कम्पनीले आउँदा पाँच वर्षभित्रमा अष्ट्रेलियामा एक अर्ब अष्ट्रेलियन डलर अर्थात् ७३ करोड ६० लाख अमेरिकी डलर लगानी गर्ने बताएका छन् ।

उक्त रकमको केही हिस्सा अष्ट्रेलियामा गुगलका पहिलो अनुसन्धान केन्द्र निर्माणमा खर्च गरिनेछ । त्यस्तै अष्ट्रेलियाको क्लाउड कम्प्युटर क्षेत्रको विकासमा पनि गुगलले सहयोग गर्नेछ ।

पिचाइका अनुसार गुगलले स्वच्छ ऊर्जा तथा ग्रेट ब्यारिएर रिफको संरक्षणको परियोजनालगायतमा पनि अष्ट्रेलियाको सरकारी निकायसँग साझेदारी गर्ने योजना बनाएको छ । त्यस्तै क्वान्टम कम्प्युटिङको क्षेत्रमा स्थानीय विश्वविद्यालयसँग सहकार्य गरिनेछ ।

स्मरण रहोस् अष्ट्रेलियामा गुगलको उपस्थिति दुई दशकदेखि रहँदै आएको छ र हाल दुई हजार स्थानीयलाई रोजगारी प्रदान गर्दै आएको छ । गुगलको एक अर्ब डलर लगानीले अष्ट्रेलियामा थप नयाँ रोजगारी सिर्जना गर्नुका साथै उन्नयनलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।

गुगलको उक्त कदमलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले समेत प्रसंसा गरेका छन् । गुगलको उक्त लगानी प्रतिबद्धतालाई एनले अष्ट्रेलियाको आर्थिक रणनीतिमा १ अर्ब विश्वासको मत भनेका छन् ।

स्कट मरिसन सरकारले सन् २०२० सम्ममा आर्टिफिसियल इन्टेलिजेन्सलगायतमा क्षमता विस्तार गर्दै मुलुकलाई विश्वको शीर्ष डिजिटल अर्थतन्त्र बनाउने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।

सिड्नीस्थित गुगलको कार्यालयमा मंगलबार बोल्दै अष्ट्रेलियन प्रधानमन्त्री मरिसनले यस योजनाको अर्थ आफूहरू अर्को सिलिकन भ्याली बन्ने प्रयासमा रहेको भन्ने नरहेको प्रष्ट पार्दै गुगलको लगानी कार्यक्रमले अष्ट्रेलियामा ६ हजार नयाँ रोजगारी सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा ६ अर्ब ७० करोड डलर योगदान गर्ने बताए ।

पछिल्ला महिनाहरूमा अष्ट्रेलियन सरकार र स्थानीय प्रयोगकर्ताहरुसँग रहँदै आएको तनावपूर्ण तथा जटील सम्बन्धलाई मथ्थर पार्ने प्रयासमा गुगलले पछिल्लो घोषणा गरेको बताइएको छ ।

आफ्नो साइटमा समाचारहरु राख्दा सम्बन्धित समाचार एजेन्सीहरुलाई पैसा तिर्नुर्ने गरी अष्ट्रेलिया सरकारले लागू ग्रेको नयाँ कानूनको गुगलले विरोध गरेसँगै गुगल र अष्ट्रेलिया सरकारबीच सार्वजनिक रुपमा विवाद भएको थियो ।

गुगलले यस विषयमा महिनौँसम्म विवाद गरिरह्यो भने एक पटक त अष्ट्रेलिया सरकारको उक्त प्रस्तावित कानूनकोविरुद्धमा आफ्नो होमपेजबाटै चेतावनी जारी गर्‍यो ।

गुगलको उक्त कदमको अष्ट्रेलियन नियामकहरूले आलोचना गर्दै गुगलले गलत जानकारी फैलाएको आरोप लगाएका थिए । गत जनवरीमा गुगलले अष्ट्रेलियामा सर्च इन्जिन बन्द गर्ने चेतावनी दिएको थियो । तर संसदमा उक्त विधयेक मतदान हुने समयमा गुगलले बोली परिवर्तन गर्‍यो ।

आफ्नो पक्षमा सांसदहरुको मत आकर्षित गर्नका लागि उनले न्युज कर्प तथा सेभेन वेष्ट मिडिया लगायतका अष्ट्रेलियाका सबैभन्दा ठूला समाचार एजेन्सीहरुसँग सहकार्यको घोषणा गर्‍यो ।

उता फेसबुकले भने नयाँ प्रस्तावित कानूनको विरोधमा अष्ट्रेलियामा आफ्नो साइटमा सबै समाचार सामग्रीमा प्रतिबन्ध लगायो । अष्ट्रेलिया सरकारले नयाँ आचारसंहितामा केही परिवर्तन गरेपछि मात्रै फेसबुकले आफ्नो प्लाटर्फममा समाचार सामाग्रीलाई पुनः खुल्ला गरेको थियो ।

फेब्रुअरीमा अष्ट्रेलिया सरकारले उक्त नयाँ कानून पारित गरेसँगै समाचार एजेन्सीहरूसँग सहकार्य गर्ने गुगलको घोषणाको प्रसंसा भएको थियो ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका