पछिल्लो केही सातादेखि लगातार गिरावटमा आएको पूँजीबजार आज उच्च अंकले फड्को मारेर अघि बढेको छ। पछिल्लो केही सातादेखि भारी अंकले गिरावट आएको पूँजीबजार आज राम्रो अवस्थामा गएको हो।
साताको पहिलो दिन आइतबार एक सय ७ अंकभन्दा बढीले घटेको पुँजी बजार परिसूचक ‘नेप्से’ सोमबार एक सय ६१.९४ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २ हजार ९ सय ८०.७८ विन्दुमा पुगेको छ। नेप्से एकै दिन ५.७४ प्रतिशतले बढेको हो। विकाश बैंक, जलविधुत् र फाइनान्स उपसमूहको सूचक ९ प्रतिशतभन्दा बढीले बढेको छ।
४२ वटा कम्पनीको सेयर मुल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढेको छ भने अन्य दर्जन बढी कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
सोमबार नेप्सेसहित सबै उपसमूहको सूचक बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपैयाँ बराबरको एक करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता सेयर खरिद विक्री भएको छ भने एक लाख ९ हजार एक सय ८२ वटा कारोबार भएका छन्।
अरुणभ्याली हाइड्रो पावर, नेसनल हाइड्रोपावर, नेपाल बैंक, अपी हाइड्रो पावर, अपर तामाकोशीका सेयर सबैभन्दा धेरै संख्यामा खरिद विक्री भएका छन्। सिद्धार्थ बैंक, महालक्ष्मी विकाश बैंक, युनाइटेड मोदी हाइड्रो पावर पनि धेरै सेयर विक्री भएका कम्पनीमा रहेका छन्।
धेरै रकमको कारोबार भएका कम्पनीमा अरुण भ्याली हाइड्रो पावर, हिमालयन डिस्टिलरी, अपर तामाकोशी, नेसनल हाइड्रो पावर, आईसीएफसी फाइनान्स, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल बैंकलगायत रहेका छन्।
हिमालयन ट्रिब्युनको लागि आशिष पोखरेल


