काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगितालाई बजाज पल्सरले मुख्य प्रायोजन गरेको छ। सोमबार ईपीएल र बजाज पल्सरको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले मुख्य प्रायोजक सम्बन्धी सम्झौता गरेका हुन्। ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको नाम ‘बजाज पल्सर ईपीएल’ हुनेछ। सम्झौता रकम भने गोप्य राखिएको छ। सम्झौतापछि बोल्दै अध्यक्ष गोल्छाले नेपाली खेलकुद अगाडि बढोस् भनेर कोरोना भाइरसको महामारीको समयमा पनि ईपीएलसँग जोडिएको बताए। ‘पछिल्लो समय क्रिकेट युवाहरूको रोजाई बनेको छ। त्यसैले हामीले नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलका लागि मुख्य प्रायोजक गरेका छौं’, अध्यक्ष गोल्छाले भने। ईपीएलका प्रबन्ध निर्देशक अख्तरले पल्सरसँग जोडिएपछि नयाँ यात्रा सुरु भएको बताए। उनले सरकारको स्वास्थ्य सम्बन्धी निर्देशन पालना गर्दै प्रतियोगिता सञ्चालन गरिने बताए।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ। साविक विजेता ललितपुर प्याट्रियट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने छन्। सोही कार्यक्रममा ईपीएलको ट्रफी सार्वजनिक गरिएको थियो। ईपीएल ट्रफी आईसीसी विश्वकप क्रिकेट ट्रफी बनाउने कम्पनीले बनाएको ईपीएल प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए। उक्त ट्रफीको हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छा र निर्देशक अख्तरले सार्वजनिक गरेका थिए।


