काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार विपक्षीहरूलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
अदालतले विशेष अदालत, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोलगायतका विपक्षीका नाममा आदेश जारी गर्दै निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्नुपर्ने हो वा होइन भन्ने आधार र कारण स्पष्ट पार्न भनेको छ।
आदेशमा भनिएको छ, ‘निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको रिट किन जारी हुनुपर्ने हो? वा रिट जारी हुनु नपर्ने आधार र कारण के हो? सोसमेत स्पष्ट गरी यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।’
त्यसैगरी, विपक्षीहरूका नाममा म्याद सूचना पठाई तोकिएको अवधिभित्र लिखित जवाफ पेस भएमा वा अवधि नाघेमा पनि नियमानुसार पेस गर्न अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतमा विचाराधीन रहेका दीपक भट्ट (चतुर्भुज भट्ट) विरुद्ध नेपाल सरकार सम्बन्धी मुद्दा नं. ०८३-RE-००२१ र ०८३-RE-००२२ समेत अवलोकनका लागि यही मुद्दासँगै राखी पेस गर्न आदेशमा उल्लेख गरिएको छ।
भट्ट विशेष अदालतको आदेशपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा रहेका छन्।


