काठमाडौँ। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) भिड्दैछन्।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने फाइनल खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ।
दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो। युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै दोस्रो संस्करणको उपाधि हात पारेको थियो।
यसपटक भने फाइनलको महत्व अझ बढेको छ। प्रतियोगिताको उपाधि विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान बनाउने भएकाले नेपाल र युएई दुवैका लागि आजको खेल निर्णायक बनेको छ।
जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमध्ये चारमा जित र एकमा हार बेहोरेको छ। युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन्। तीमध्ये नेपालले ११ खेल जित्दा युएईले आठ खेलमा सफलता हात पारेको छ। पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ।
नेपालले युएईसँग पछिल्लोपटक गत मे महिनामा आइसिसी विश्वकप लिग–२ अन्तर्गत प्रतिस्पर्धा गरेको थियो। उक्त सिरिजका दुवै खेलमा नेपाल विजयी भएको थियो।
आजको फाइनलमा नेपाल आफ्नो पुरानो प्रतिद्वन्द्वी युएईलाई हराउँदै दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिनेछ।


