काठमाडौं। चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चीन सरकार र चिनियाँ रेडक्रसको सहयोग रकम हस्तान्तरण गरेका हुन्।
राजदूत माओमिङले चीन सरकारका तर्फबाट २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड ५० लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे। त्यस्तै, चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको थप नगद सहयोग पनि हस्तान्तरण गरिएको छ।
यसरी चीन सरकार र चिनियाँ रेडक्रसबाट नेपालले कुल २२ लाख अमेरिकी डलर अर्थात् करिब ३३ करोड ५० लाख रुपैयाँ बराबरको सहयोग प्राप्त गरेको छ।
सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको प्राकृतिक विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विपद्को यस कठिन समयमा चीन नेपालसँगै रहेको सन्देश चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको जानकारी दिए।
चीनले नगद सहयोगसँगै आपत्कालीन राहत सामग्रीसमेत नेपाल पठाउन थालेको छ। राजदूतका अनुसार आइतबार मात्रै चीनका दुईवटा विमानमार्फत ५० टन पाल, कम्बल, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत सामग्री काठमाडौं ल्याइएको छ। थप राहत सामग्री पनि निरन्तर पठाइने उनले बताए।
रसुवा बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउने पहल भइरहेको पनि अर्थ मन्त्रालयलाई जानकारी गराइएको छ।
त्यस्तै, जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिक तथा प्राविधिकको उद्धारका लागि हेलिकप्टरसहित चिनियाँ दक्ष प्राविधिक टोली नेपाल आइपुगेको जनाइएको छ। नेपाल सरकारले माग गरेअनुसार ठूलो परिमाणमा राहत सामग्री ढुवानी गर्न सक्ने ड्रोन उपलब्ध गराउने कामसमेत तीव्र गतिमा भइरहेको बताइएको छ।
चीन सरकारको सहयोग ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले विपत्तिको कठिन समयमा नेपाललाई समयमै सहयोग उपलब्ध गराएकोमा चीन सरकारप्रति धन्यवाद व्यक्त गरे। उनले बाढीका कारण दुवै देशले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली तथा उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरे।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रका मुलुकहरूले प्राकृतिक विपत्तिको गम्भीर असर भोग्नुपरेको उल्लेख गर्दै मन्त्री वाग्लेले जलवायुजन्य विपत्तिको सामना गर्न नेपाल र चीनबीच थप सहकार्य आवश्यक रहेको बताए। बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनामा पनि चीनको सहयोग अपेक्षित रहेको उनको भनाइ थियो।
कार्यक्रममा अर्थमन्त्री वाग्ले र राजदूत माओमिङले बाढीका कारण ज्यान गुमाएका नेपाल तथा चीनका नागरिकहरूको सम्झनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।


