Monday, August 24, 2026
Homeअन्तराष्ट्रियगिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु, २२ जना घाइते

गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु, २२ जना घाइते

काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको ठूलो थुप्रो खस्दा नजिकैका घरहरू पुरिएर कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

घटनामा अन्य २२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय समयअनुसार राति करिब २ बजे सहरको डार–एस–सलाम क्षेत्रमा घटना भएको हो । गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको थुप्रो अचानक खसेको थियो । त्यस क्रममा नजिकैका घर तथा संरचना पुरिएका छन् ।

भग्नावशेषमा अझै कैयौँ मानिस पुरिएको आशङ्का गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

घटनापछि गिनी सरकारले उद्धार तथा राहत कार्यका लागि सेनासहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । उद्धार टोलीले भग्नावशेषबाट मानिसहरूको खोजी तथा शव निकाल्ने काम गरिरहेको छ ।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै एक महिलाले दुर्घटनामा आफ्ना पाँच जना बालबालिकाको मृत्यु भएको बताएकी छन् ।

घटनास्थलको निरीक्षण गर्न पुगेका गिनीका प्रधानमन्त्री अमादोउ ओउरी बाले घटनाको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

यसअघि स्थानीय नेता लान्सिने सिलाले समाचार एजेन्सी एएफपीलाई घटनामा ठूलो मानवीय क्षति भएको हुन सक्ने बताएका थिए । उनका अनुसार प्रारम्भिक चरणमा १८ वटा शव निकालेर शवगृह पठाइएको थियो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका