काठमाडौँ । सङ्घीय संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदले प्रश्न दर्ता गराएका छन् ।
प्रतिनिधि सभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था छ । तर, हालसम्म ११ जना सांसदले मात्रै आफ्नो नाम दर्ता गराएका छन् ।
प्रतिनिधि सभा सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो भागमा परेको चार वटा कोटामा अझै सांसदको नाम दर्ता गराएको छैन । अन्य दलबाट भने प्रश्नकर्ता सांसदको टुङ्गो लागिसकेको छ ।
प्रश्न दर्ता गराउनेमा रास्वपाका सांसद अमरेशकुमार सिंह, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा र अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकी रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरुङले नाम दर्ता गराएका छन् ।
त्यस्तै, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले पनि प्रश्न दर्ता गराएका छन् ।
यसैगरी, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीसँग प्रश्न गर्ने गरी नाम दर्ता गराएका छन् ।
रास्वपाले आफ्नोतर्फबाट चार जना सांसदको नाम पठाउन बाँकी रहेकाले हालसम्म ११ जनाको मात्रै सूची तयार भएको संसद् सचिवालयले जनाएको छ ।


