काठमाडौं । भारतको विशाखापट्नममा शिक्षिकाको कुटाइपछि ६ वर्षीय बालकको मृत्यु भएको छ।
लिटिल गार्डन्स स्कुलको यूकेजीमा अध्ययनरत प्रणय तेजाको बिहीबार मृत्यु भएको हो। होमवर्क नगरेको भन्दै शिक्षिकाले बालकलाई कक्षाकोठामै कुटपिट गरेको र लज्जित बनाउने प्रयास गरेको आरोप परिवारले लगाएको छ।
घटनाको सीसीटीभी फुटेजमा शिक्षिकाले बालकलाई थप्पड हानेपछि उनी शिक्षिकाकै काखमा ढलेको देखिएको छ। त्यसपछि बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
परिवारका सदस्यले शिक्षिकाले थप्पड हानेपछि बालक अत्यधिक डराएका कारण हृदयाघात भएको आरोप लगाएका छन्। यद्यपि, मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्र पुष्टि हुने जनाइएको छ।
सामाजिक सञ्जालमा कक्षाकोठाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि घटना बाहिर आएको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
प्रहरी अधिकारीहरूले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकलाई कुनै पूर्वस्वास्थ्य समस्या थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान गरिरहेका छन्। बालकको मृत्युको वास्तविक कारण पत्ता लगाउन थप चिकित्सकीय परीक्षणसमेत भइरहेको जनाइएको छ।


