Sunday, August 16, 2026
Homeअर्थ र ब्यापारनेपालमै बनेको विद्युतीय स्कुटर यात्री पीटू’लाई विश्व बजारमा पुर्‍याउन सरकारको साथ रहन्छ...

नेपालमै बनेको विद्युतीय स्कुटर यात्री पीटू’लाई विश्व बजारमा पुर्‍याउन सरकारको साथ रहन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरको प्रवद्र्धन र विस्तारका लागि सरकारको साथ रहने बताएका छन्।

सिप्रदी यात्रीले काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा उत्पादन गरिरहेको नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पीटू’ को निर्माण प्रक्रिया स्थलगत रूपमा अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।

स्कुटर निर्माणमा कम्पनीले गरेको मेहनतको प्रशंसा गर्दै उनले नेपालमै डिजाइन भएर विद्युतीय स्कुटर निर्माण हुनु सकारात्मक र उत्साहजनक विषय भएको बताए।

‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ उनले भने, ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस्। अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।’

नेपालले आफ्नै डिजाइनमा दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु ऐतिहासिक कदम भएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई विश्व बजारमा विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले नेपालमै सम्भव भएसम्म डिजाइनदेखि उत्पादनसम्मको काम विस्तार गर्न आग्रह गर्दै आवश्यक सरकारी सहयोगबारे जानकारी गराउन उद्योगीलाई आग्रह गरे।

‘एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ र उत्पादन चीनमा हुन्छ। सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस्। सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस्,’ उनले भने, ‘विश्व बजारमा पुर्‍याउन अरू के गर्न सकिन्छ भन्ने विषयमा पनि सोच्नुहोस्।’

नेपाली इन्जिनियर तथा डिजाइनरले गरेको मेहनतको सम्मान गर्दै उनले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने बताए।

अर्थमन्त्री वाग्लेले नेपाली स्कुटरले विश्व बजारमा स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्दै सफलता हासिल गरोस् भन्ने शुभकामनासमेत दिए। नेपाली उत्पादन अमेरिकी बजारसम्म पुग्न सक्ने विश्वास व्यक्त गर्दै उनले विदेशमा रहेका नेपालीमाझ समेत ‘यात्री’ ब्रान्ड लोकप्रिय बनोस् भन्ने शुभकामना व्यक्त गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका