काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको संयुक्त इजलासले उनीहरूको बयान तथा थुनछेक बहसपछि बुधबार यस्तो आदेश दिएको हो।
यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दाको सुनुवाइका क्रममा बुधबार अदालतमा उपस्थित गराइएको थियो।
पूर्वअर्थमन्त्री विष्णु पौडेलसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा अदालतले पौडेललाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ। तर भट्ट र अग्रवाललाई भने पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।


