काठमाडौं । अमेरिका–इरानबीच बढ्दो तनावका बीच हर्मुज जलडमरूको विषयलाई लिएर इरानभित्र रणनीतिक दृष्टिकोणमा मतभेद देखिएको छ। एकातर्फ सैन्य नेतृत्व कडा अडानमा देखिएको छ भने अर्कोतर्फ निर्वाचित नागरिक नेतृत्व कूटनीतिक समाधानको पक्षमा रहेको विश्लेषण गरिएको छ।
अन्तर्राष्ट्रिय मामिलासम्बन्धी थिंक–ट्याङ्क सौफान सेन्टर का वरिष्ठ विश्लेषक केनेथ क्याट्जम्यानका अनुसार इरानभित्र दुई फरक रणनीतिक धार सक्रिय छन्। उनका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का केही प्रभावशाली सैन्य कमान्डर र कट्टरपन्थी धार्मिक नेतृत्वले हर्मुज जलडमरूमाथिको नियन्त्रणलाई इरानको प्रमुख रणनीतिक शक्ति मान्दै आएका छन्।
यसको विपरीत राष्ट्रपति मसूद पेजेसकियानको नेतृत्वमा रहेको निर्वाचित सरकार तथा केही नागरिक नेताहरूले तनाव कम गर्दै संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने धारणा राखेको विश्लेषकहरूको भनाइ छ।
राजनीतिक विश्लेषणअनुसार इरानको नागरिक नेतृत्वले ओमानको मध्यस्थतामा अमेरिकासँग पुनः वार्ताको सम्भावना खोजिरहेको बताइन्छ। यस्तो प्रयास सफल भए हर्मुज जलडमरूको सुरक्षित सञ्चालन तथा क्षेत्रीय तनाव कम गर्न नयाँ समझदारी बन्न सक्ने आकलन गरिएको छ।
उता, अमेरिकाले हर्मुज जलडमरू अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग भएकाले यसलाई निर्बाध रूपमा सञ्चालन हुनुपर्ने आफ्नो नीति दोहोर्याउँदै आएको छ। विश्वको उल्लेखनीय परिमाणको कच्चा तेल यही मार्गबाट ओसारपसार हुने भएकाले यसमा अवरोध आए अन्तर्राष्ट्रिय सुरक्षा र विश्व अर्थतन्त्रमा असर पर्न सक्ने अमेरिकी धारणा रहेको छ।
रक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विश्लेषकहरूका अनुसार यदि क्षेत्रीय तनाव थप बढ्दै गयो र हर्मुज जलडमरूमा अवरोध सिर्जना भयो भने अमेरिका–इरान सम्बन्ध अझ जटिल बन्न सक्छ। यद्यपि, कूटनीतिक पहल प्रभावकारी भए दुवै पक्षबीच संवाद पुनः सुरु हुने सम्भावना पनि रहेको उनीहरूको विश्लेषण छ।


