Wednesday, July 8, 2026
Homeसूचना प्रविधिचीनमा चालकविहीन रोबोट्याक्सीको तीव्र विस्तार, विश्व नेतृत्वतर्फ उन्मुख कि नयाँ चुनौतीको सामना?

चीनमा चालकविहीन रोबोट्याक्सीको तीव्र विस्तार, विश्व नेतृत्वतर्फ उन्मुख कि नयाँ चुनौतीको सामना?

बेइजिङ । चीनले चालकविहीन (रोबोट्याक्सी) प्रविधिको विकासलाई तीव्र गति दिँदै विश्वव्यापी नेतृत्व हासिल गर्ने लक्ष्यसहित परीक्षण र व्यावसायिक सञ्चालन विस्तार गरिरहेको छ। बेइजिङको यीझुआङ जिल्ला अहिले स्वचालित सवारीसाधन परीक्षणको प्रमुख केन्द्र बनेको छ, जहाँ बाइडु, वी–राइड र पोनी–एआईजस्ता कम्पनीहरूले चालकविहीन ट्याक्सी सेवा सञ्चालन गरिरहेका छन्।

मोबाइल एपमार्फत केही मिनेटमै रोबोट्याक्सी बुक गर्न सकिन्छ। चालकविहीन यी गाडीहरूले व्यस्त सडकमा बस, साइकल, स्कुटर र पैदलयात्रीबीच सुरक्षित रूपमा यात्रा गर्ने क्षमता प्रदर्शन गरिरहेका छन्।

ईभी उद्योगको बलियो आधार

विश्लेषकहरूका अनुसार चीनको विद्युतीय सवारी (ईभी) उद्योगको सफलता रोबोट्याक्सी प्रविधिको विकासमा ठूलो आधार बनेको छ। बीवाईडी, चेरी, जिली र एसएआईसीजस्ता कम्पनीहरूले सवारी उत्पादन गरिरहेका छन् भने अन्य प्रविधि कम्पनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर र स्वचालित ड्राइभिङ प्रणाली विकास गरिरहेका छन्।

ब्रुकिङ्स इन्स्टिच्युटका अनुसन्धानकर्ता काइल च्यानका अनुसार चीनमा देखिएको नवप्रवर्तन र औद्योगिक सहकार्यको गति विश्वका अन्य मुलुकको तुलनामा निकै तीव्र छ।

सरकारी नीतिको साथ

चीन सरकारले विभिन्न सहरमा पाइलट परियोजना सञ्चालन गर्दै सार्वजनिक सडकमै स्वचालित सवारी परीक्षण गर्न अनुमति दिएको छ। बेइजिङजस्ता जटिल ट्राफिक भएका सहरले कम्पनीहरूलाई ठूलो मात्रामा वास्तविक डेटा उपलब्ध गराइरहेका छन्, जसले एआई प्रणालीलाई अझ परिष्कृत बनाउन सहयोग पुर्‍याएको छ।

वी–राइडकी प्रमुख मार्केटिङ अधिकृत मेभ झाङका अनुसार चीनको जटिल ट्राफिक वातावरण स्वचालित प्रणालीको विकासका लागि उपयुक्त परीक्षणस्थल बनेको छ।

रोबोट्याक्सीभन्दा पनि ठूलो योजना

रोबोट्याक्सी सेवा मात्र होइन, चीनले स्वचालित प्रविधिलाई निजी कार, बस र डेलिभरी सवारीमा समेत विस्तार गरिरहेको छ। क्यूक्राफ्ट कम्पनीका अनुसार उसका स्वचालित बसहरू चीनका २० भन्दा बढी सहरमा सञ्चालनमा छन् भने अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार भइरहेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेम्स यूका अनुसार आगामी पाँचदेखि दस वर्षभित्र स्वचालित सवारीसाधन मानिसको दैनिक जीवनको सामान्य हिस्सा बन्न सक्नेछन्।

अमेरिकी कम्पनीसँग प्रतिस्पर्धा

विश्व बजारमा चीनका कम्पनीहरूको प्रमुख प्रतिस्पर्धी अमेरिकाको वेमो हो, जसले विभिन्न अमेरिकी सहरमा व्यावसायिक रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ। टेस्ला र अमेजनको जुक्सले पनि यस क्षेत्रमा लगानी गरिरहेका छन् भने उबर र लिफ्टले चिनियाँ कम्पनीहरूसँग साझेदारी गर्दै सेवा विस्तारको तयारी गरिरहेका छन्।

रोजगारी र सुरक्षाको चुनौती

रोबोट्याक्सी प्रविधिले भविष्यमा ट्याक्सी तथा डेलिभरी चालकहरूको रोजगारीमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ। तर चीन सरकारले यसलाई घट्दो श्रमशक्तिको समाधान तथा नयाँ रोजगारी सिर्जना गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ।

यद्यपि सुरक्षासम्बन्धी चुनौती अझै कायम छ। यस वर्ष बाइडुको अपोलो गो सेवामा आएको सफ्टवेयर समस्याका कारण वुहानमा करिब १०० वटा रोबोट्याक्सी बीच सडकमै रोकिएका थिए। केही यात्रु गाडीभित्रै थुनिएको घटनाले स्वचालित सवारीप्रति जनविश्वासमा प्रश्न उठाएको थियो।

यसअघि अमेरिकामा पनि जनरल मोटर्सको क्रुज रोबोट्याक्सी सेवासँग सम्बन्धित दुर्घटनापछि नियामक निकायले अनुमति निलम्बन गरेको थियो।

भविष्यप्रति आशावाद

चुनौतीहरू भए पनि उद्योग तथा विश्लेषकहरू स्वचालित सवारी प्रविधिको भविष्यप्रति आशावादी छन्। उनीहरूका अनुसार नियामकीय सुधार, प्रविधिको परिष्कार र जनविश्वास बढ्दै जाँदा रोबोट्याक्सी आगामी दशकमा विश्वभरको यातायात प्रणालीको महत्वपूर्ण हिस्सा बन्न सक्छ।

चीनले एआई, विद्युतीय सवारी, ब्याट्री प्रविधि र डिजिटल पूर्वाधारमा बनाएको बलियो आधारका कारण रोबोट्याक्सी क्षेत्रमा पनि विश्व नेतृत्व हासिल गर्ने प्रयासलाई तीव्र बनाइरहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका