काठमाडौं । चीनको झेजियाङ प्रान्तस्थित ताइझोउ सहरमा एउटा फ्ल्याटबाट सयौँ अजिङ्गर बरामद भएपछि अवैध वन्यजन्तु पालन तथा तस्करीको ठूलो सञ्जालको खुलासा भएको छ। प्रहरीले यस प्रकरणमा कुल ४३६ वटा अजिङ्गर बरामद गर्दै तीन जनालाई पक्राउ गरी अदालतबाट जेल सजाय दिलाएको छ।
अनुसन्धानको सुरुआत सन् २०२४ को मार्चमा एक वृद्धले पहाडी क्षेत्रमा अस्वाभाविक रूपमा ठूलो अजिङ्गर देखेपछि स्थानीय प्रशासनलाई दिएको सूचनाबाट भएको थियो। वन्यजन्तु अधिकारीहरूले उक्त सर्प स्थानीय प्रजातिको नभएको र चिसो मौसममा खुला रूपमा देखिनु असामान्य रहेको निष्कर्ष निकालेपछि अनुसन्धान अघि बढाइएको थियो।
सर्पलाई जीवित राख्न कृत्रिम तापक्रम आवश्यक पर्ने भएकाले प्रहरीले आसपासका घरहरूको बिजुली खपतको विवरण जाँच गरेको थियो। त्यसक्रममा गुओ नामका एक व्यक्तिको फ्ल्याटमा अस्वाभाविक रूपमा धेरै बिजुली खपत भएको भेटिएपछि प्रहरीले निगरानी बढाएको थियो।
अनुसन्धानका क्रममा गुओको घरमा ‘दी’ नामका अर्का व्यक्ति नियमित आउने-जाने गरेको तथा अजिङ्गरलाई खुवाउन प्रयोग हुने सेता मुसा अनलाइनमार्फत मगाइने गरेको खुलेको थियो। सामाजिक सञ्जालमा सर्पका तस्बिर र बिक्रीसम्बन्धी प्रमाण फेला परेपछि प्रहरीले फ्ल्याटमा छापा मारेको थियो।
छापाका क्रममा फ्ल्याटका दुई शयनकक्ष र बैठक कोठामा प्लास्टिकका बाकसमा राखिएका ३०९ वटा जीवित अजिङ्गर फेला परेका थिए। छिमेकीहरूले समेत त्यहाँ यति ठूलो सङ्ख्यामा सर्प पालिएको थाहा नपाएको प्रहरीले जनाएको छ।
सोधपुछका क्रममा गुओले सन् २०१४ मा चारवटा अजिङ्गर किनेर प्रजनन सुरु गरेको स्वीकार गरेका थिए। अनुसन्धानबाट उनले र उनका सहयोगीले अहिलेसम्म ८० वटा अजिङ्गर बिक्री गरिसकेको खुलेको छ।
प्रहरीले प्रारम्भिक रूपमा सर्प बिक्री गर्ने ‘देङ’ नामका व्यक्तिलाई पनि पक्राउ गरेको थियो। उनको घरबाट थप ४७ वटा अजिङ्गर बरामद भएपछि अपरेसनमा बरामद भएका अजिङ्गरको कुल सङ्ख्या ४३६ पुगेको थियो।
बरामद गरिएका अजिङ्गरहरूको अनुमानित बजार मूल्य ३ करोड युआनभन्दा बढी रहेको जनाइएको छ। चीनको कानुनअनुसार अजिङ्गर संरक्षित वन्यजन्तुको सूचीमा पर्ने भएकाले अनुमतिविना यसको पालन, प्रजनन तथा खरिद–बिक्री अवैध मानिन्छ।
स्थानीय अदालतले गुओ, दी र देङलाई वन्यजन्तु तस्करी तथा अवैध पालनको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ। बरामद गरिएका सबै अजिङ्गरलाई सुरक्षित रूपमा स्थानीय चिडियाखानामा स्थानान्तरण गरिएको छ।


